सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालनको विषयमा विवाद बढ्यो, शिक्षा र स्वास्थ्य मन्त्रालयबिच मतभेद

२०७६ असार १६, ०६:५१ नवराज पनेरु

लामो संघर्षपछि पूर्वाधार निर्माण तिव्र गतिमा भईरहेपनि गेटा मेडिकल कलेज सञ्चालनको विषयमा राजनीतिक धुर्वीकरण बढेको छ। संघीय सरकारका दुई मन्त्रालयहरुबिच नै गेटा मेडिकल कलेज सञ्चालनको विषयमा धुर्वीकरण बढेपछि मेडिकल कलेजमा आधारभुत आवश्यकता अनुसार पूर्वाधार निर्माण भएपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि प्रक्रिया नै सुरु नभएको हो। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक भिमवहादुर साउँदले कुन प्रारुपमा सञ्चालन हुने विषयमा विवाद देखिएको बताए। उनले  मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान के बनाउने भन्ने विषयमा अहिले बहस सुरु भएको बताए।

श्रोतका अनुसार संघीय सरकारको स्वास्थ्य मन्त्रालय मेडिकल कलेज नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अडान राख्दै आएको छ भने शिक्षा मन्त्रालय भने मेडिकल कलेज नै हुनुपर्ने बताउँदै आएको छ। मेडिकल कलेज भए शिक्षा मन्त्रालयको मातहतमा सञ्चालन हुने छ भने स्वास्थ्य विज्ञान प्रतिष्ठान भए स्वास्थ्य मन्त्रालयको मातहतमा जाने छ। प्रदेश सरकारकाले भने स्वास्थ्य विज्ञान प्रतिष्ठान हुनुपर्ने भन्दै लविङ सुरु गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले सुदूरपश्चिमका लागि मेडिकल कलेज भन्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यक देखिएको बताए। ‘मेडिकल कलेजकै प्रारुपमा सञ्चालन भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाउने कानूनी अड्चन रहेको छ,’ उनले भने, ‘मेडिकल कलेजमा सिधै राजनीतिक हस्तक्षेप गर्न सकिने देखिएको छ।  त्रिभुवन विश्वविद्यालयको अनुमती लिनुपर्ने बाध्यता पनि छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैमा स्वायत्त हुने भएकाले राजनीतिक हस्तक्षेप पनि निकै कम हुने छ।’ त्यसैले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि यस क्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुले अहिलेदेखि लाग्नुपर्ने सुझाव उनको छ। 

अहिले मेडिकल कलेजको निर्माण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रहेर भईरहेको छ। अहिलेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेले स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पर्ने तर्क गर्दै आएका थिए। तर अहिले शिक्षा मन्त्री भएपछि केहि समय यता मेडिकल कलेज नै हुनुपर्ने तर्क गर्दै आएका छन्। आईतवार मात्रै धनगढी आएर तत्काल अस्पतालको काम सुरु गर्न निर्देशन दिदै मन्त्री पोखरेलले त्यस्को तीन बर्षपछि मात्रै कलेजमा पढाई सुरु हुने बताए।

यता मेडिकल कलेज पूर्वाधार विकास समिति पनि संघीय सरकारका दुई मन्त्रालयबिच सञ्चालनको प्रारुप बारे मतभेद देखिएपछि अन्योलमा परेको छ। मेडिकल कलेजमा सातवटा प्याकेजमा संरचना निर्माण भइरहेकोमा अस्पताल भवनको ७५ प्रतिशत, कलेज भवनको ६५ प्रतिशत, छात्रावास भवनको ५० प्रतिशत र प्रशासनिक भवनको ४० प्रतिशत काम सम्पन्न भईसकेपनि अहिले सम्म सञ्चालनको प्रारुप तह नहुँदा विकास समिति अन्योलतमा परेको हो। मेडिकल कलेज नै भए २०७७ भित्र अस्पतालमा सेवा सुरु गर्ने र त्यस्को तीन बर्षपछि मात्रै एबीबीएसको पढाई सञ्चालनमा ल्याउने देखिएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस