सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु
कैलालीः सुदूरपश्चिम प्रदेशमा गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु गरिएको छ। बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको काम आजदेखि सुरु भएको हो।
चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्नेगरी रु छ करोड १५ लाख लागतमा निर्माण सुरु भएको हो। एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवैपट्टि दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किमी सडक भरानको काम हुने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ।
शुक्रवार यहाँ सडक निर्माणको शुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। ‘सेती राजमार्ग निर्माण लामो समयदेखि ढिला भइरहेको छ, यसलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनी लाग्नुपर्छ, स्थानीय तह आवश्यक समन्वय र सहकार्य गर्न तयार छ’, उनले भने।
अध्यक्षले राजमार्गअन्तर्गत पर्ने बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको भन्दै अर्को पुल केही महिनामा सम्पन्न हुने जानकारी दिए। ‘सेती राजमार्गमा सुविधासम्पन्न सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नु हो । त्यसैले पनि हामीले सबै समयमा काम सम्पन्न गर्नरगराउन समन्वय गर्नुपर्दछ’, उनले भने।
यही खण्डअन्तर्गत दुर्गौली–प्रतापपुर १० किमी सडक कालोपत्रको काम पनि भइरहेको अध्यक्ष कुँवरले बताए। कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा तीन किमी सडक मात्र ट्रयाक खोल्न बाँकी रहेको भन्दै उक्त ट्रयाक खुलेमा टीकापुर–खिमडी–ठुलीगाड सिधा यातायात सम्पर्कमा जोडिने उनले उल्लेख गरे।