सेती राजमार्गको बौनियाँ–टिकापुर सडक खण्डको काम सुरु

धनगढी : सेती राजमार्गको बौनियाँ–टिकापुर सडक खण्डको काम सुरु गरिएको छ। कैलालीको बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कङ्क्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रवारदेखि सुरु भएको हो।
चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने गरी पृथ्वी महानिगलाशैनी र पृथ्वी एच बि जेभिले ६ करोड १५ लाख लागतमा कामको ठेक्का पाएका छन्। करिब एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवै पट्टी करिब दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किलोमिटर सडक भरानको काम हुनेछ। बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले कामको सुरुवात गरेका हुन। उनले सम्झौता अवधि भित्रै काम पूरा गर्न भनेका छन्।
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, निर्माण व्यवसायी शिवराज सापकोटा, रवि शाही लगायत अन्य जनप्रतिनिधि शुभारम्भ कार्यक्रममा सहभागी थिए। सेती राजमार्गको दुर्गौली–प्रतापपुर १० किलोमिटर सडक खण्ड कालोपत्रेको काम जारी छ। कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा करिब तीन किलोमिटर सडकको ट्याक निर्माणको काम पूरा भएको छैन।
डोटीको बडीकेदार–३ र बोगटान फुड्सील–१ को क्षेत्रमा रुखका कारण ४० किलोमिटर सडक निर्माणको काम रोकिएको छ।

