अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि
काठमाण्डौः अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ।
हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो।दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ।अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो।
सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको थियो। त्यस्तै सन् २००९ को फेब्रुअरी महिनामा कन्टिनेन्टल एअरलाइन्सको यात्रुवाहक विमान न्यूयोर्कको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिँदा झण्डै ५० जनाको ज्यान गएको थियो। यसैबीच, विमान दुर्घटनास्थलमा ‘ब्ल्याक बक्स’ भेटिएको छ। अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) का अनुसार विमानको ब्ल्याक बक्समार्फत के–कसरी विमान दुर्घटना भयो भन्नेबारे जानकारी पाउन सहज हुनेछ। एनटीएसबीका अधिकारीले दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट एक महिनामा आउने बताएका छन्। दुर्घटनाको कारण खोज्न धेरै विधिबाट जाँच चलिरहेको छ।