धनगढीमा दुर्गाकुमारी २८ वर्षदेखि जातीय पोसाक सिलाउन व्यस्त

धनगढीः कैलारी गाउँपालिका– १ बिसनपुरकी दुर्गाकुमारी चौधरी २८ वर्षदेखि विभिन्न जातीय पोसाक सिलाउन व्यस्त छिन्।
२०५३ सालमा सिलाइ सम्बन्धी तीन महिने तालिम लिएर सुरु भएको दुर्गाकुमारीको यात्रा २८ वर्षसम्म अनवरत चलिरहेको छ। हसुलियाबाट २०६५ मा धनगढी सरेकी चौधरीले सोही वर्षबाट क्याम्पस चोकमा दहित सिलाइ सेन्टर सञ्चालनमा ल्याएकी हुन्। उनले थारू, मगर, गुरूङ्ग र नेवारी पोसाक तयार गर्दै आएकी छन्। विदेशमा समेत जातीय पोसाक बिक्री गर्दै आएकी चौधरीले तीन हजारदेखि २० हजारमा जातीय पोसाक बिक्री गर्दै आएकी छन्।

तीन महिने तालिमबाट सुरु भयो चौधरीको यात्रा


२८ वर्षदेखि सिलाइ कटाइ पेशामा सक्रिय कैलारी गाउँपालिका–१ बिसनपुरकी दुर्गाकुमारी चौधरीको धनगढी–८ क्याम्पस चोकमा महतो टेलर्स छ। विभिन्न जातीय पोसाक सिलाउने दुर्गाकुमारीले २०५३ सालमा तीन महिने सिलाइ कटाई तालिम लिएपछि व्यवसाय सुरू गरेकी हुन्। २०६४ सालसम्म हसुलियामै कपडा सिलाउने काम गरेकी चौधरी २०६५ मा धनगढी आएकी हुन्। उनले आफू स्वरोजगार बन्दै थप चार जनालाई समेत रोजगारी दिएकी छन्। उनले सिलाइ गरेरै धनगढीमा एक कट्ठा जग्गा जोडेर त्यसमा अढाई तले घर निर्माण गरेको बताइन्। ‘हसुलिया गाविसले दिएको तीन महिने सिलाइ तालिमपछि मैले सिलाइको पसल खोलेकी हुँ। २०६५ सालमा धनगढी आएर काम गर्न थालेकी हुँ। सिलाइ गरेर नै धनगढीमा घडेरी र अढाई तले घर निर्माण गरेकी छु। यो पेशामा लागेर खुसी छु,’ चौधरीले भनिन्।
सिलाइ पेशाबाट एक छोरालाई सब इन्जिनियर र छोरीलाई स्नातक अध्ययन गराएकी चौधरीले धनगढी मोतिचोकमा एक कट्ठा जग्गा र अढाई तलाको घर लगाएकी हुन्। उनले चौधरी थारू, राना थारू, मगर, तामाङ र नेवारी पोसाक तयार गरी बिक्री गर्दै आएको बताइन्। ‘मैले अन्य पोसाक पनि सिलाउने गरेकी छु। जातीय पोसाक सबैभन्दा बढी सिलाउने गरेकी छु। पहिले एक्लै हुँदा राम्रो माग थियो, अहिले अन्य सिलाइ सेन्टर पनि खुलेकाले माग घटेको छ,’ चौधरीले भनिन्।
एक सेट पोसाक २० हजारसम्ममा बिक्री
जातीय पोसाक तयार गर्ने चौधरीले अन्य पोसाकसमेत तयार गर्छिन। मगर जातीय पोसाक एक हजार ५ सयदेखि चार हजार पाँच सय, चौधरी थारू पोसाक ३ हजारदेखि १० हजार र राना थारू पोसाक १० हजारदेखि २० हजारमा बिक्री हुने गरेको दुर्गाकुमारीले बताइन्। उनले जातीय पोसाकको माग जापान, कोरिया र अष्ट्रेलियाबाट समेत आउने गरेको र गैर थारू समुदायले विदेशबाट मगाउने गरेको बताइन्।
दुर्गाकुमारी चौधरीसँग सिलाइ कटाई सिकेका करिब १२ जना महिलाले आफ्नै व्यवसाय सुरु गरेका छन्। सिप सिकेर निरन्तर काम गरे सफलता मिल्ने चौधरीको भनाइ छ।