सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक किलो ७०६ ग्राम अफिमसहित दुई जना पक्राउ

२०८२ जेठ १९, ०२:५४ खबर संवाददाता

धनगढी: कैलालीको लम्की–चुहा नगरपालिका–३, चिसापानीस्थित प्याराडाइज होटलबाट प्रहरीले २ जना पक्राउ गरेको छ।

शङ्कास्पद गतिविधिको सूचनाका आधारमा प्रहरीले विशेष अपरेशन चलाउँदै दुई जना व्यक्ति पक्राउ गरेको हो।

लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर शाखा र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले होटलमा चेकजाँच गर्दा उनीहरूबाट एक किलो ७०६ ग्राम लागु औषध अफिम फेला पारेको छ।

पक्राउ पर्नेहरूमा जुम्लाको गुठीचौर गाउँपालिका–४ का ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्त बहादुर शाही रहेका छन्। दुबै जनालाई ईलाका प्रहरी कार्यालय लम्कीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।

उनीहरूविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। अफिम जस्तो गम्भीर लागु औषधसहितको पक्राउलाई प्रहरीले महत्वपूर्ण सफलता मानेको छ।

 

कमेन्ट लोड गर्नुस