अमेरिकामा हेलिकोप्टर र विमान आकाशमै ठोक्किदा भएको दुर्घटनामा १८ जनाको शव भेटियो

काठमाडौंः अमेरिकामा हेलिकोप्टर र विमान आकाशमै ठोक्किदा भएको दुर्घटनामा १८ जनाको शव भेटिएको छ।
अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको एक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएका थिए। उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। प्रहरी अधिकारीहरूले जानकारी दिँदै अहिलेसम्म १८ जनाको शव फेला परिसकेको बताएका छन्।
बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ।स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान जारी छ। उक्त विमानले रेगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो।

