सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी कार्यालयलाई असारको चटारो लागेपछि धनगढीका होटलमा तालिम, गोष्ठीको ओईरो

बजेट सक्ने मेसो

२०७६ असार १५, ०४:२५ नवराज पनेरु

चालु आर्थिक बर्षको अन्तिम महिना असारे विकास मात्र नभई चालु तर्फको बजेट सक्न पनि चटारो लगेको छ। चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट सक्न सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी र वरपरका होटल तथा लजका बैठककक्ष भरिभराउ छन्। धनगढीका होटल तथा लजका सबै बैठक कक्ष सरकारी कार्यालयहरुका तालिम, गोष्ठी जस्ता कार्यक्रम आयोजना भइरहेकाले भरिभराउ भएका हुन्। तालिम र गोष्ठी जस्ता कार्यक्रमको ओईरो नै लाग्न थालेपछि सुदूरपश्चिमभरीका सरकारी कर्मचारीहरु पनि अहिले धनगढीमा भेटिन थालेका छन्।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले एनजिओआईनजिओलाई डिसेम्वर लागे जस्तै अहिले सरकारी कार्यालयलाई असार लागेको बताए। उनले धनगढीका अधिकासं होटलहरु सरकारी कार्यालयहरुका कार्यक्रमले नै अहिले भरीभराउ भएको बताए। असारमा गरिने कार्यक्रमको प्रभावकारीता केही नभएपनि कार्यक्रम गरेर सहभागीलाई अन्य समयको भन्दा धेरै भत्ता दिएर बजेट सक्न भ्याइनभ्याइ छ। सरकारी स्तरबाटै वर्षको अन्तमा आएर बजेट सक्न कार्यक्रम गर्दा उपलब्धीविहीन हुनुका साथै पारदर्शी नहुने धेरैको भनाई छ। सुदूरपश्चिमका स्थानीय तह र मन्त्रालय मात्रै होईन सघीय सरकारका मन्त्रालय र विभागले पनि सुदूरपश्चिममा दैनिक कार्यक्रम गर्दै आएका छन्। 

स्वास्थ्यका एकै दिन ४ कार्यक्रम
आईतवार सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराईका दुई जिल्लाका अधिकासं स्वास्थ्य कर्मचरी धनगढीमा भेटिए। एक जिल्लाबाट ४ देखि ८ जना सम्म स्वास्थ्य कर्मचारीहरु धनगढी आएका थिए। बुझ्दै जाँदा आईतवार मात्रै स्वास्थ्य सम्वन्धिका ४ वटा कार्यक्रम धनगढीमा आयोजना भएका रहेछन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखले एकै दिन धनगढीका छुट्टा छुटै दुई होटलमा कार्यक्रमको आयोजना गरेको छ। यस्तै परिवार कल्याण महाशाखाको कार्यक्रम स्वास्थ्य तालिम केन्द्रमा सञ्चालन भईरहेको थियो भने सोही तालिम केन्द्रमा चिकित्सा शिक्षा आयोगको आयोजना र प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितीमा कार्यक्रम भईरहेको थियो। एकैदिन स्वास्थ्यका ४–४ वटा प्रदेशको अस्थायी राजधानीमा भएपछि प्रदेशका सबै जिल्लाका अधिकासं स्वास्थ्य कर्मचारीहरु धनगढी पुगेका हुन्। 

अहिले मौसम परिवर्तन भएर विरामीको सङख्या बढ्दै गएका बेला अधिकासं स्वास्थ्य कर्मचारी धनगढी आएपछि पहाडी जिल्लामा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। एक जना स्वास्थ्य कार्यालयका प्रमुखले नाम नभन्ने शर्तमा भने ‘सबै तालिम गोष्ठीहरु हरेक बर्ष असारमा मात्रै हुन्छन्। जस्ले गर्दा स्वास्थ्य सेवा प्रवाहमा निकै समस्या भईरहेको छ।’ यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संघीय स्वास्थ्य मन्त्रालय र विभागबाट असारमा एकपछि अर्को गर्दै कार्यक्रम आयोजना भईरहेको बताएको छ। मन्त्रालयका सचिव गोगन हमालले प्रदेशको सामाजिक विकास मन्त्रालयसंग कुनै समन्वय नै नगरी अधिकासं कार्यक्रम भईरहेको बताए। ‘असार १५ गतेपछि कुनै पनि गोष्ठी र तालिममा सहभागी नहुन सबै मातहतका निकायलाई निर्देशन दिईसकेको थिए,’ उनले भने, ‘अटेरी गर्दै धेरै स्वास्थ्यकर्मी धनगढी आएको सुनेको छु, अव सवैलाई स्पष्टिकरण सोध्छु।’

संघीय मन्त्रालय र विभागले प्रदेशको सामाजिक विकास मन्त्रालयसंग नभई स्वास्थ्य निर्देशनालयसंग समन्वय गरेको आरोप समेत लागेको छ। यता सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले स्वास्थ्यमा तालिम गोष्ठी भईनै रहने बताए। उनले तालिम र गोष्ठी जस्ता कार्यक्रमले कुनै पनि समस्या नल्याएको दावी गरे।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस