सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा धान दिवसको अवसरमा गोरु दौडाउने प्रतियोगिता, पुरस्कारमा मल

२०७६ असार १५, ०१:४५ खबर संवाददाता

१५ औँ राष्ट्रिय धान दिवसको अवसरमा साझा विवेकशिल पार्टी अभियान विभाग सुदूरपश्चिम प्रदेशले गोरु दौडाउने प्रतियोगिता गरेको छ। कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ खैरानामा गोरु दौडाउने प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगितामा सोही क्षेत्रका स्थानीयका ५ हल गोरुलाई सहभागिता गराईएको थियो। दौड जित्ने गोरु मालिकलाई मल पुरस्कार दिईएको छ। प्रतियोगितामा स्थानीय हस्तराम चौधरीका तेजबहादुर र बावुराम नाम गरेका गोरुको सहभागिता रहेको थियो भने नहरु चौधरीका राते र काले, खुसीराम चौधरीका गोरे र बनकट्टे, बेजुराम चौधरीका लालपुरे र नझोते, शेरबहादुर खड्काका  मोटु र पात्लु नाम गरेका गोरुको सहभागिता गराईएको थियो। 
गोरु दौडाउने प्रतियोगितामा किसान बेजुराम चौधरीले पालेका लालपुरे र नझोते नाम गरेका गोरु प्रथम भएपछि बेजुरामले एक कट्टा डिएपी मल र प्रमाणपत्र पाएका छन भने अर्का किसान खुसीरामले पालेका गोरे र बनकट्टे नमका गोरु द्धितिय भएसंगै खुसीरामले पनि एक कट्टा युरिया मल र प्रमाणपत्र पाएका छन्। यस्तै किसान शेरबहादुर खड्काले पालेका मोटु र पात्लु नामका गोरु तृतिय भएका छन्। यो संगै उनलेपनि २० किलो युरिया र प्रमाणपत्र पाएका छन्। अन्य सहभागिहरुले पनि ४÷४ किलो युरिया मल पाएका छन्। प्रतियोगितामा बाजा बजायर सहयोग गर्ने तारा नेपालीलाई पनि मल सहित प्रमाण पत्र दिईएको छ।
कैलालीका किसानले मल नपाईरहेका वेला किसानलाई मल उपलब्ध गराउन र सरकारी पक्षलाई मलको सहज आपुर्तिका लागि दवाव दिनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको साझा विवेकशिल पार्टी अभियान विभागका सुदूरपश्चिम प्रमुख विनोद मल्ल विप्लवले बताए। 
कार्यक्रममा सहभागी सबै किसान तथा सो क्षेत्रका स्थानीयलाई पनि पार्टीले दहि चिउरा समेत खुवाएको उनले बताए। परम्परागत रुपमा आसारे भाका र मागल समेत गाउँदै रोपाई गरिएको थियो। कार्यक्रममा साझा विवेकशिल पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल, पार्टीका नेताहरु मोहनराज शर्मा, सिद्धराज पनेरु लगायतको समेत सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस