सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राध्यापक पन्तलाई माघ ३० गते नागरिक अभिनन्दन गरिने

२०८१ माघ ११, ०७:२६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई माघ ३० गते नागरिक अभिनन्दन गर्ने भएको छ।

शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न शुक्रवार समिति गठन गरिएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल संयोजक रहेको १५१ सदस्यीय समिति गठन गरिएको हो। नगर प्रमुख हमालले १५१ सदस्यीय समिति गठन गरिएको बताए। उनले भने, ‘चौराहादेखि पार्कमोडसम्म आउँछौँ। पार्कमोडमा सम्मान कार्यक्रम राखेका छौँ।’ धनगढी उपमहानगरपालिकाले शुक्रवार अभिनन्दनका लागि छलफलको आयोजना गरेको थियो। छलफलमा नगर प्रमुख हमालले भनेका छन, ‘शिक्षकहरू पाउँदैन थिए। पन्त सर एक्लै भएपनि बस्नु भयो। हाकीमहरूलाई पढाउन आग्रह गर्नु भयो। अहिले सुदूरपश्चिमको जुन जिल्लको क्याम्पसमा पनि हेमराज सरको विद्यार्थी शिक्षक छन। अहिले गाउँ–गाउँ, कुना–कुनामा हेमराज सरका विद्यार्थीहरू छन। केएमसीको विद्यार्थीहरू छन्।’ नगर प्रमुख हमालले २०८१ माघ ३० गते बिहान ८ बजे प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने निर्णय भएको बताए।

पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापनमा पन्तको भूमिका महत्वपूर्ण छ। पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए। पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन्। कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो। भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए। प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन्। डोटीको शिखर नगरपालिका–९ उच्चाकोटमा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन्।

२०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गर्न लागिएको नगरप्रमुख गोपाल हमालले बताए। सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ। हेमराज पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए। हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए।

बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो। उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए। दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे। उनले शंकरदेव क्याम्पसबाट विकम गरे। २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे।

सरकारले महेन्द्रनगरमा २०६८ सालमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना गरेको थियो। उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए। चार वर्षे कार्यकाल पूरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए। फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले। २०७४ सालबाट उनी सेवानिवृत्त भए।

 

कमेन्ट लोड गर्नुस