सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १५ सम्म सुदूरपश्चिममा ७० प्रतिशत खेत बाँझै

२०७६ असार १५, ११:२३ खबर संवाददाता

असार १५ भईसक्दा समेत सुदूरपश्चिममा झण्डै ७० प्रतिशत खेत बाँझै रहेका छन्। मल र ईन्धनको अभाव तथा पर्याप्त सिँचाई सुविधा नहुँदा असार १५ सम्म पनि सुदूरपश्चिमका ७० प्रतिशत खेत बाँझै रहेका हुन्। कृषि विकास निर्देशनालय दीपयालका अनुसार अहिले सम्म सुदूरपश्चिममा ३० प्रतिशत मात्रै रोपाई सकिएको छ।

निर्देशनालयका निर्देशक गोपाल लामिछानेका अनुसार अहिले सम्म पर्याप्त बर्षा नहुँदा र रासायनिक मलको अभावका कारण ३० प्रतिशत मात्रै धान रोपाई भएको बताए। ‘अहिले सम्म रोपाईका लागि पर्याप्त बर्षा नभै भएको छैन्,’ उनले भने, ‘बर्षा नभएका कारण अहिले सम्म तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका अधिकासं क्षेत्रमा रोपाई नै सुरु भएको छैन्।’

देशरभी नै रासायनिक मलको अभाव भएको छ, उनले भने–सुदूरपश्चिममा झनै बढि अभाव भएका कारण सिँचाई सुविधा भएका क्षेत्रमा पनि रोपाइ हुन सकेको छैन्। पहाडी जिल्लामा ४५ प्रतिशतको हाराहारीमा रोपाई भएको छ भने कैलाली र कञ्चनपुरमा १५ प्रतिशत मात्रै रोपाई भएको छ। सुदूरपश्चिममा ४६ प्रतिशत खेतीयोग्ग जग्गामा मात्रै सिँचाई सुविधा रहेको उनले बताए। समयमा रोपाई हुन नसक्दा र विभिन्न कारणले धानको उत्पादन बढ्न नसक्दा बर्षेनी भारतबाट ठुलो मात्रामा चामलको आयात हुँदै आएको छ।

सुदूरपश्चिममा बार्षिक ७० हजार मेट्रिक टन भन्दा बढी खाद्यान्न नेपालको पूर्वी तराईका साथै भारत लगायतबाट आयात हुने गरेको छ। बढ्दो जनसङ्ख्या र परम्परागत खेती प्रणालीका कारण उत्पादन बढ्न नसकेको बेला बर्षेनी खेतीपातीको समयमा हुने मल र ईन्धनको अभावले झनै समस्या बढिरहेको छ। सुदूरपश्चिमको १९ लाख ५३ हजार ९ सय हेक्टर मध्ये ३ लाख ५५ हजार हेक्टर जमीन खेतीयोग्य रहेको छ।
 

कमेन्ट लोड गर्नुस