सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरानो बन्दै असारे भाका

२०७६ असार १५, ०७:०५ खबर संवाददाता

असार महिना रोपाइँको महिना, सुदूरपश्चिममा पनि किसानहरुलाई रोपाईको चटारो छ। सिँचाईको सुविधा नहुँदा तथा मल र ईन्धनको अभावले अझै सम्म पनि धेरै जग्गा बाँझै छ। कामको व्यस्तताका बाबजुत रोपाइँका बाउसे र रोपाहारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाई बिर्सन खोज्ने चलन भने बिरानो बन्न थालेको छ। किसानहरु रोपाइँमा जुटिसकेका छन्। तर, रोपाइँमा उहिलेको जस्तो रौनकता भेटिन्न। अहिले न हलगोरु जोत्ने हली भेटिन्छन् न त सम्याउँदै गरेका बाउसेहरु। रोपाहार र बाउसेहरुले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि देखिँदैन्। गित गाईहाले पनि असारे गित सबै विर्सीसकेकाले चलनचल्तीका देउडा भाका गाउने प्रचलन रहेको धनगढी उप–महानगरपालिका वपडा नम्वर ३ कि शारदा साउदले बताईन्।

‘खेत जोत्न, सम्याउन र रोप्न समेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौनकता असार १५ को धान दिवसमा सीमित हुन थालेको छ,’ उनले भनिन्, ‘रोपाइँमा खेतालाहरुले छतरी ओडेर असारे गीत गाउँदाको रमाइलो अहिले एकादेशको कथा बन्दै गएको छ।’  यद्यपी पहाडी ७ जिल्लामा भने अहिले पनि छिटपुट रुपमा असारे भाका घन्किने गरेको डोटीका रमेश खड्काले बताए। ‘अधिकासंले वास्तवीक असारे भाका भने गाउन सकेका छैनन्,’ उनले भने, ‘रोपाइँमा त गाइन छाड्यो–छाड्यो, हिजोआज सञ्चार माध्यममा पनि निकै कम महत्व पाउने गरेको छ।’ 

असारे गीतले काम गर्दै, थाहै नपाई रोपाइँको समय काट्ने र पीरमर्का सुनाएर मन हलुका बनाउने भएकाले त्यस्ता भाकाको जगेर्ना हुन आवश्यक रहेको धेरैको भनाई छ। कृषिमा आधुनिकीकरण भित्रिए पनि संस्कृतिको संरक्षण र संवद्र्धनमा भने राज्य नै जुट्नुपर्ने उनीहरुको धारणा छ। 
 

कमेन्ट लोड गर्नुस