अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु
सिड्नीः अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ।
अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको छ। दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन्। यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ। प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। दीक्षाले केही समयअघि मात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन्।
नव विवाहित पत्नीको निधनले ज्वाइँ निकै दुखित भएको दीक्षाका दाजुले द डेली टेलिग्राफलाई बताएका छन्। यो घटनाको दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो। फोनमा केही नबुझेपछि आकस्मिक सेवापछि फोन फर्काएको थियो। सो फोन एक पुरुषले उठाएका थिए भने फोन उठाउने व्यक्ति लबिन्द्र भएको ठानिएको छ।
फोन दीक्षाले किन गरेको भन्ने खुलेको छैन। तर त्यसको केही समयमा एक जना प्रत्यक्षदर्शीले अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि मद्दतका लागि ट्रिपल जिरोमा फोन गरेका थिए। फोन गरेको एक मिनेटमै प्रहरी पुगे। तर उनीहरू आउँदासम्म दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन्।
प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ। झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले पनि घटनालाई हेरिएको छ। यसअघि मध्य डिसेम्बरमा भने श्रीमान–श्रीमतिबिच झगडा भएपछि प्रहरी दीक्षा र लबिन्द्रको अपार्टमेन्टमा पुगेको थियो। अहिलेसम्म यस घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन।