सेतीमा ७ तले भवनको योजना अलपत्र, पुरानो भवनका सेवा नसार्दा समस्या
धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालमा सात तलाको भवन निर्माणको योजना अलपत्र परेको छ।
नेपाल सरकारको अनुदानमा प्रदेश सरकारले निर्माण गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरेको भवन निर्माणको योजना रोकिएको हो। सुदूरपश्चिम प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। तर, सेती अस्पतालको पुरानो भवनमा रहेका सेवा सार्ने ठाउँ नभएकाले ठेक्का सम्झौता गरिएको छैन।
अस्पतालको टिनको पुरानो छानो रहेको भवनका प्रसूति, खोप, क्यान्सर, चमेनागृह, चिकित्सक संघको भवन, सरसफाइ शाखा, प्रसूतिको शल्यक्रिया, १० शय्याको सघन उपचार कक्ष (आइसीयू), कुष्ठरोग, फिजियोथेरापी, फोहोरका संरचनाहरू, शव गृहलगायतका सेवाहरू सार्न ठाउँ नभएकाले भवन निर्माणको योजना रोकिएको हो।
सेती प्रादेशिक अस्पतालको पूर्वी क्षेत्रमा रहेका पुराना संरचनाका सेवाहरू सार्ने र सात तलाको नयाँ भवन निर्माण गर्ने योजना रहेको सेती अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले बताए। उनले भने, ‘सहरीले निर्माण थालेको भवन र कोरोना अस्पतालमा सेवा सार्ने र नयाँ भवनको काम सुरु गर्ने योजना हो। तर, यता भवनको काम ७/८ वर्षदेखि सकिएको छैन। कोरोना अस्पताल रहेको जमिन पनि हाम्रो होइन। पुरानो भवनमा धेरै सेवाहरू छन। सार्नका लागि ठाउँ छैन। सेवा सार्न बाँकी रहेकाले नयाँ भवन निर्माणको योजना पनि रोकिएको छ।’
सहरी विकास मार्फत निर्माण थालिएको भवनको कामसमेत पूरा नभएकाले प्रदेश सरकारको भवन निर्माणको योजना अलपत्र परेको हो। सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर पाण्डेले कोरोना अस्पताल र सहरी विकासले निर्माण थालेको भवनमा सेवा सार्ने र नयाँ भवन निर्माणको काम सुरु गर्ने बताए। तर, टिनको पुरानो छानो मुनी सेवाहरू धेरै भएकाले नयाँ भवन निर्माणका लागि समस्या भएको उनले बताएका छन।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल परिसरभित्र नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गराएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले भने, ‘भवन निर्माणको योजना छ। डिपीआर स्वीकृत पनि भएको हो। तर, स्थान खाली नभएकाले ठेक्का गरेका छैनौ। सङ्घीय सरकारको ५० प्रतिशत र प्रदेश सरकारको ५० प्रतिशत लगानीमा भवन निर्माणका लागि बजेट छ।’ सेती अस्पतालको पूर्वी क्षेत्रमा ठुलो, आधुनिक, दुई भुईँ तलामा पार्किङसमेत भएको (डबल बेसमेन्टको), २–३ सय शय्या क्षमताको सात तलासम्मको भवन निर्माणका लागि प्रदेश सरकारले विस्तृत योजना प्रतिवेदन तयार पारेको छ। एक अर्ब बढीको लगानीमा भवन निर्माणको योजना सुदूरपश्चिम सरकारले तयार पारेको हो।
जिल्ला अस्पतालका लागि विस १९९७ मा निर्माण गरिएका टिनले छाएका संरचनाका सेवाहरू हटाउन नसक्दा सात तलाको भवन निर्माणको काम रोकिएको छ। कैलाली जिल्ला अस्पताललाई २०४० सालमा ५० शय्याको सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो। अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै सेती प्रादेशिक अस्पताललाई एक सय २५ शय्यामा सञ्चालन गरिएको छ। अस्पतालमा बिरामीको सङ्ख्या धेरै भएको भन्दै अस्पताल प्रशासनले तीन सय २१ शय्यामा अस्पताल सञ्चालन गर्दै आएको छ।