सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईमा ३.९ जिपिए ल्याउने धनगढीका थापा भन्छन्– डाक्टर बनेर सेवा गर्छु

२०७६ असार १३, ०१:५७ नवराज पनेरु

एसईईको बिहीबार सार्वजनिक भएको नतिजामा धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का समिर थापाले तीन दशमलव ९ जिपिए ल्याएका छन्। कैलाली जिल्लामा अहिले सम्म प्राप्त जानकारी अनुसार थापाले नै उच्च जिपिए ल्याएका छन्। उनी धनगढी उप–महानगरपालिका वडा नम्वर १३ मै रहेको किङफिसर बोर्डिङ स्कुलबाट एसईई परीक्षामा सहभागी भएका थिए। बाजुरा पुर्खेउली घर भएका उनले सामाजिक शिक्षा र जनसङख्या, स्वास्थ्य तथा बातावरण बाहेक अन्य सबै विषयमा ए प्लस ल्याएका छन्। 
एसईईमा तीन दशमलव ९ जिपिए ल्याएपछि हर्षित थापाले भने, ‘सानो कक्षादेखि नै अध्ययनका लागि तालिका बनाएर पढ्दै आएको थिएँ। अहिले एसईईमा त्यस्को प्रतिफल पाएँ।’ 

‘अव कक्षा ११ मा विज्ञान संकाय रोज्छु,’ उनले भने, ‘कुनै उत्कृष्ट कलेजबाट माग आएमा बाहिर जान्छु होला। होईन भने धनगढीमै पढ्छु।’ थापाले न सामाजिक सञ्जाल फेसवुक चलाउँछन न त उनीसंग अहिले सम्म मोवाईल नै छ। उनलाई पढाइका अतिरिक्त फुटवल र चेस खेल्न पर्छ। उनले नर्सरी धनगढीकै हरिहर बोर्डीङ स्कुलमा पढेका थिए भने त्यसपछि किङफिसरमा भर्ना भएका थिए। 

उनले भविष्यमा डाक्टर बनेर आफ्नै ठाउँको सेवा गर्ने लक्ष्य राखेको बताए। किङफिसर बोर्डिङ स्कुलका प्रिन्सिपल विमल भण्डारीले थापाको अध्ययन शैलीको बयान गर्दै उनको मेहनतले नै अहिले एसईईमा सफल बनाएको बताए। थापाको परिवारमा बुवाआमा र एक बहिनी छन्। उनका वुवा धनगढी उप–महानगरपालिका वडा नम्वर १३ मा रहेको जनता राष्ट्रिय माविमा नीति श्रोतबाट शिक्षण पेशामा आवद्ध छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस