चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० जना घाइते
काठमाडौंः चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन्।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ। यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो। आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो। नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ।