सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधको दलदलमा फस्दै सुदूरपश्चिममा युवा, एकैदिन १३ जना पक्राउ

२०८१ पुष २०, ११:३९ अनिता चौधरी

धनगढीः सुदूरपश्चिममा धेरै युवाहरु लागुऔषधको दलदलमा फस्न थालेका छन्।

खराब संगत र परिवारको बेवास्ताका कारण लागुऔषधको दलदलमा फस्ने युवाको संख्या बढ्दै गएको हो। शुक्रबार मात्रै एकैदिन सुदूरपश्चिममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन्। कैलालीबाट १०, कञ्चनपुरबाट एक र डडेल्धुराबाट २ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय मोहन रानालाई पक्राउ गरिएको छ।

रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको हेण्डलभित्र लुकाइ राखेको ६ ग्राम १८० मिलिग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट धनगढी–७ का २५ वर्षीय प्राभुपन रानाले चलाएको सुुदूरपश्चिम प्रदेश ०१–००९ प ५६२४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भागमा लुकाइ राखेको अवस्थामा ८४० मिलिग्राम लागूऔषध मोटरसाइकल चालक राना र पछाडी सवार १ जना गरी २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

लागुऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी–२  त्रिनगर भन्सार चोकबाट सुदूरपश्चिम प्रदेश ०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा चालक धनगढी–१३ का का २९ वर्षीय बाहाली राना र स्कुटर पछाडी सवार धनगढी–६ का ३१ वर्षीय दिपक रानालाई ५ सय मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। यस्तै धनगढी–१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल रानालाई ८९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ।

यस्तै इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–२ आखाँ अस्पताल नजिकबाट सोही स्थानका २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटालाई पक्राउ गरेको छ। ८० मिलिग्राम लागूऔषधसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले बैतडीको पाटन नगरपालिका–८ घर भई हाल धनगढी–३ केदार टोलमा नास्ता पसल संचालन गर्दै आएका ४० वार्षीय रोसन महरालाई पनि पक्राउ गरेको छ। पसलबाट ६९ ग्राम ३४० मिलिग्राम चरेस र १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरी महरालाइ नियन्यत्रणमा लिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ खैरभट्टीबाट सोही स्थानका ३१ वर्षीय कैलाश लुहार लागुऔषधसहित पक्राउ परेका छन्। उनी शुन्य दशमलव ५४ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उता डडेल्धुराबाट थप दुई जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ बागबजार स्थित बसपार्कबाट नवदुर्गा गाउँपालिका–२ का २६ वर्षीय खेमराज भट्ट शुन्य दशमलव २० मिलिग्राम र डोटीको शिखर नगरपालिका–८ गोबघाटका २६ वर्षीय साजन बलायर प्रिगासप्ट नामक लागूऔषध २५ ट्याब्लेटसहित पक्राउ परेका छन्। विशेषगरी कैलाली र कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या सबैभन्दा बढी देखिएको छ। यसको असर सुदुर पहाडमा पनि पर्न थालेको छ।

लागूऔषध सम्बन्धी बनेको कानूले प्रयोगकर्तालाई बढीमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। त्यसपछि सुधार केन्द्र पठाउनुपर्ने प्रावधान छ। तर, सबै प्रयोगकर्ता सुधार केन्द्र भने जाने गरेका छैनन्। प्रहरी नियन्त्रणबाट छुटेकाहरु पुनः लागूऔषध प्रयोगमा नै संलग्न हुन थालेपछि नियन्त्रण गर्न चुनौति हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस