सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा व्यवसायीक रुपमा र्‍याफ्टिङ गरिँदै

२०८१ पुष १७, ०३:२६ खबर संवाददाता

धनगढीः महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ (जलयात्रा) को सुरुवात गरिएको छ।

डडेल्धुराको परशुराम नगरपालिकामा सम्पन्न दुई दिने मेयर सम्मेलनको समापनपछि जलयात्रा सुरु गरिएको हो। परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार निजी क्षेत्रको सहकार्यमा नगरपालिकाले महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालन गरेको हो। मेयर जोशीले नगरपालिकासँग हाल दुईवटा र्‍याफ्ट रहेको जानकारी दिँदै जलयात्रा प्रवर्द्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र जारी गरिएको बताए।

घोषणापत्रमा डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्त, बैतडीको दशरथ चन्द, र दार्चुलाको महाकाली नगरपालिकाले जलयात्रा सञ्चालन र दिगो विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। महाकाली नदीमा र्‍याफ्टिङको सम्भाव्यता परीक्षण विश्व पानी दिवसको अवसरमा ९ वर्षअघि नै गरिएको थियो।

परशुराम धामदेखि भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म दुई पटक परीक्षण गरिएको थियो। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजको सहयोगमा जलयात्राका लागि आवश्यक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए। महाकाली नदीमा व्यवसायिक जलयात्रा सञ्चालनले नदी तटीय क्षेत्रको रोजगारी सिर्जना, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थानहरूको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस