सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलले आगामी नयाँ बाटो तय गर्ने विषयमा ‘प्रेसमिट’ गर्दै 

२०८१ पुष १५, ०२:२३ खबर संवाददाता

धनगढीः नेकपा एमालेबाट निष्कासनमा परेपछि भीम रावलले आगामी नयाँ बाटो तय गर्ने भएका छन्। अब के गर्ने भन्ने विषयमा जानकारी गराउन रावलले प्रेसमिट गर्ने भएका छन्।

रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्। आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले बताए। नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरेर पार्टीबाटै निष्कासन गरेपछि नयाँ पार्टी खोल्ने की नखोल्ने भन्ने विषयमा पनि उनले प्रेसमिटबाटै जानकारी गराउने भएका छन्।

एमालेले उनलाई कारबाही गरेपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफलसमेत गर्दै आएका छन्। यो विषयमा आफ्ना कुरा राख्न ‘बुधवार पत्रकार सम्मेलन गर्ने तय भएको छ। १७ गते १ बजे हुने पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने विषयमा रावलले आफ्नो योजना सार्वजनिक गर्नेछन्। एमालेमा करिब पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।

२०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका रावल नेकपा एमालेका तत्कालिन उपाध्यक्ष समेत थिए। उनै रावललाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि यो विषयमा पक्ष र विपक्षमा विभिन्न कोणबाट वहस भइरहेको छ। उनी अछाम जिल्लाबाट राष्ट्रिय राजनीतिमा उदायका नेता हुन्।

कमेन्ट लोड गर्नुस