सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा
धनगढीः सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा गरिएको छ। यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुुटेको छ।
कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच प्रदेश सभाका विषयगत समितिको नेतृत्व भागबण्डा गरेर लिने सहमति जुटेको हो। सहमतिअनुसार प्रदेश सभामा चारवटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा÷एउटा समितिको सभापति लिनेछन्।
नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र कांग्रेसलाई विशेष समितिका सभापति दिने गरी भागबण्डा मिलेको छ। दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ।
समितिलाई विभाजन गरेर विशेष समिति बनाइने बताइएको छ। प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा भने सभापति रहेका छन्। कांग्रेसका दिवानसिंह विष्ट सो समितिको सभापति छन् भने अन्य समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन्।