सुदूरपश्चिममा ३ अर्ब ४४ करोड खर्च, यस्तो छ तीन आवको चौमासिक प्रगति
धनगढीः सुदूरपश्चिममा बजेट कार्यान्वयनको पाटो कमजोर देखिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा तीन अर्ब ४४ करोड बजेट मात्र कार्यान्वयन गर्न सकेको पाइएको छ। चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरिएकोमा तीन अर्ब ४४ करोड ३८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको छ। यो कुल बजेट विनियोजनको १० प्रतिशत मात्र खर्च भएको रकम हो।
बजेट कार्यान्वयनको पाटो कमजोर हुँदा विकासको पछौटेपन कायमै देखिन पुगेको छ। प्रदेश सरकारको पुँजीगत बजेट कार्यान्वयनको अवस्था झनै कमजोर देखिएको छ। पाँच महिनाको अवधिमा १ अर्ब ३२ करोड ३६ लाख मात्रै पुँजीगत बजेट खर्च भएको पाइएको हो।
चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ७६ करोड २४ लाख २३ हजार पुँजीगत बजेट विनियोजन गरिएकोमा अहिलेसम्म ७ प्रतिशत मात्र प्रगति देखिएको छ। चालुतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकामा मंसिर मसान्तसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा कूल विनियोजित बजेटको साढे ६ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकको अवधिमा पुँजीतर्फ कूल बजेटको साढे तीन प्रतिशत, आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा झण्डै पाँच प्रतिशत र चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल विनियोजित पुँजीगत बजेटको ७ प्रतिशत खर्च भएको तथ्यांक छ।
चालु आर्थिक वर्षका लागि सबैभन्दा बढी पुँजीगत बजेट भएको मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय हो। सो मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ। मंसिर मसान्तसम्म एक अर्ब २३ करोड १९ लाख ४० हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ।