भूकम्पबाट बाजुराका ८ घरमा क्षति, थप विवरण संकलन हुँदै
बाजुराः बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ५.२ म्याग्निच्युटको भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक भएको छ।
नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार ८ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका– २ मा स्थानीय कल्पना बुढाको दुईतले घर, वडा नं। ४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ।
यस्तै, सोही नगरपालिका– ३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चँदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ। सोही ठाउँको कैलाश अतिथिगृहको भवनमा पनि क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका– १ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए।
भूकम्पको केन्द्रविन्दु रहेको गोत्रीमा १२३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ। सोही विवरणबारे वडा नम्बर ५ कार्यालयबाट जिल्ला विपत् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले बताए। वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकिन गर्ने काम भइरहेको उनले बताए।
यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत संकलन भइरहेको छ। प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ। नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे।