सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको चौरपाटीमा विद्यालय भवन, महिनावारी मैत्री शौचालय र धारा हस्तान्तरण

२०८१ पुष ६, ०८:५५ खबर संवाददाता

अछाम: अछामको चौरपाटी गाउँपालिकामा विद्यालय भवन र महिनावारी मैत्री शौचालय हस्तान्तरण गरिएको छ।

चौरपाटी गाउँपालिकाको सहकार्यमा, गुड नेवर्स इन्टरनेशनल नेपाल र मालिका विकास संघको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत निर्माण गरिएका विद्यालय भवन, महिनावारी मैत्री शौचालय र बालमैत्री खानेपानी धारा हस्तान्तरण गरिएको हो।

गाउँपालिकाको वडा नम्बर-२ स्थित श्री दशपल्ले माध्यमिक विद्यालयलाई नवनिर्मित महिनावारी मैत्री शौचालय र बाल मैत्री खानेपानी धारा हस्तान्तरण गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सर देवी खड्का, प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा, मालिका विकास संघ नेपालका अध्यक्ष हिमबहादुर विश्वकर्मा, गुड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर संयोजक तेज प्रसाद शर्माले संयुक्त रूपमा शौचालय र खानेपानी धारा हस्तान्तरण गरेका हुन्।

शौचालय र खानेपानी धारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर साउँदलाई हस्तान्तरण गरिएको बताइएको छ। महिनावारी मैत्री शौचालय १६ लाख १५ हजार ३८ रुपैयाँ बजेटमा निर्माण भएको हो भने बाल मैत्री खानेपानी धारा एक लाख ३६ हजार ५४० रुपैयाँमा बनेको हो।

यस्तै शुक्रबार नै वडा नम्बर १ स्थित मष्टाबण्डाली आधारभूत विद्यालयलाई पनि नवनिर्मित दुई कोठे भवन उद्घाटन गरी हस्तान्तरण गरिएको छ। सो भवनको गाउँपालिकाका उपाध्यक्ष सर देवी खड्काले उद्घाटन गरेकी थिइन्। सो भवन ३८ लाख ३९ हजार ६६२ रुपैयाँको लागतमा बनेको हो।

नवनिर्मित विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। सो कार्यक्रममा मालिका विकास संघ नेपालका अध्यक्ष हिमबहादुर विश्वकर्माले विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक गुणस्तरमा सुधारका लागि मालिका विकास संघले गाउँपालिकाको सहकार्य, समन्वयमा काम गर्दै आएको जानकारी गराए। साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए।

यस्तै, गुड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर संयोजक तेज प्रसाद शर्माले गाउँपालिकाको सहकार्य तथा समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा साझेदारी संस्था मालिका विकास संघ नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत विद्यालयमा गुणस्तरीय शिक्षा विकास गर्ने उद्देश्यका साथ शौचालय, विद्यालय भवन ता बालमैत्री खानेपानी को धारा निर्माण गरिएको बताए।

उनले अब विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने विश्वास गरे। यसैगरी, गाउँपालिकाका उपाध्यक्ष खड्काले शैक्षिक क्षेत्रको विकासमा परियोजनाले चौरपाटी गाउँपालिकामा राम्रो काम गर्दै आएको भन्दै प्रशंसा गरिन्। उनले मालिका विकास संघ र गुड नेवर्स इन्टरनेशनल नेपालसँग आगामी दिनमा पालिकाको तर्फबाट सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

विद्यालय भवन, महिनावारी मैत्री शौचालय र बालमैत्री खानेपानी धारा हस्तान्तरण कार्यक्रममा चौरपाटी गाउँपालिकाका सर देवी खड्का, चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा, मालिका विकास संघ नेपालका अध्यक्ष हिमबहादुर विश्वकर्मा, गुड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर संयोजक तेज प्रसाद शर्मा र मालिका विकास संघ नेपालका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर रावलको सहभागिता रहेको थियो। यसैगरी, चौरपाटी गाउँपालिकाको योजना शाखा प्रमुख, शिक्षा शाखा प्रतिनिधि लगायत विभिन्न शाखाका प्रतिनिधि, शिक्षक, अभिभावक, लगायतको पनि उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस