धनगढीमा तस्करीको सामान बिक्री गर्ने प्रहरी हवलदारलाई कारबाही
धनगढी : कैलालीको धनगढीमा तस्करीको सामान बिक्री गर्ने एक प्रहरी सहायक हवलदारलाई कारबाही गरिएको छ। त्रिनगर प्रहरी चौकी, धनगढीका प्रहरी सहायक हवलदार विक्रम चन्दलाई कारबाही गरिएको हो।
धनगढीमा ९ महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेका चन्दलाई अछाम फिर्ता पठाइएको छ। अछाममा दरबन्दी रहेका चन्द कैलालीको त्रिनगर प्रहरी चौकीमा सादा पोसाकमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चन्दलाई कारबाही गरिएको बताए। उनको काज फिर्ता गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो। टोलीको प्रतिवेदनका आधारमा चन्दलाई कारबाही गरिएको हो।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार चन्दले तस्करीको सामान बिक्री गर्दै आएको हुन्। उनले तस्करीको सुर्ती लगायतका सामान कबाडीमार्फत बिक्री गर्ने र रकम लिने गरेका थिए। तत्कालीन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीको निर्देशनमा छानबिन टोली गठन गरिएको थियो।
भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर चन्दले कबाड व्यापारीहरूलाई बिक्री गर्दै आएको गुनासो आएपछि छानबिन गरिएको हो। एक भारतीय कवाड व्यापारीले ३० हजार मूल्यमा कवाडीको सामान खरिद गरेको र २७ हजार तिर्न बाँकी रहेपछि चन्दले कुटपिट गरेको गुनासो गरेपछि चन्दले तस्करीको सामान बिक्री गर्दै आएको खुलेको हो।