रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
एजेन्सीः युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमवार जनाएको छ। युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, डिसेम्बर १४ र १५ मा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँनजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको छ।
युक्रेनी गुप्तचर अधिकारीले भनेका छन्, रुसले कब्जा गरेको युक्रेनी भूभाग र वरपरका क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरी गरिएका आक्रमणमा कम्तीमा ३० जना उत्तर कोरियाली सैन्य लडाकूको मृत्यु भएको छ।” उत्तर कोरियाबाट हजारौँ सैनिकहरू कुर्स्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रुसी सेनालाई सहयोग गर्न आएका छन्।
यसै वर्षको गृष्म याममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रुसले आफ्नो भूमि फिर्ता लिइरहेको छ। सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाइहरूमा ‘नयाँ सैनिक’हरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ। मस्कोको आक्रमणपछि रुस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ।