सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब टीकापुर–काठमाण्डौं हरेक आइतबार र विहिबार हवाई उडान हुने

२०८१ मंसिर २८, ०६:२८ खबर संवाददाता

धनगढीः अब कैलालीको टीकापुर–काठमाण्डौं प्रत्येक आइतबार र विहिबार नियमित हवाई उडान हुने भएको छ।

टीकापुरमा ३५ वर्षपछि नियमित हवाई सेवा सञ्चालनमा आउन लागेको हो। २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मंसिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो। विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले बताए।

विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन्। विमानस्थलमा आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ। त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ। नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ।

टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ पुगाउनेछ। यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा ९ हजार निर्धारण गरिएको छ। विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाउन बाध्य टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ।

काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ पुग्नेछ।

यस्तै काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबिच सहमति भइसकेको छ। साँफेबगर विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ। साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ।

कमेन्ट लोड गर्नुस