सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि थप ५ दिन थुनामै रहने

२०८१ मंसिर २७, ०७:१८ खबर संवाददाता

काठमाडौँः सहकारीको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले ९ दिन थप्न माग गरेको थियो।

बिहीवार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले थप पाँच दिन हिरासतमा राख्नका लागि अनुमति दिएको हो। पछिल्लो पटक थपिएको यो म्यादभित्रै रविविरुद्धको मुद्दाको अभियोग अदालतमा लैजाने तयारी छ। सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए।

सहकारी सम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने सहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी लगाएत अन्य सहकारीको बचत अपचलन गरेको लामिछानेमाथि आरोप छ। 
 

कमेन्ट लोड गर्नुस