सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

२०८१ मंसिर १९, ०५:०७ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ।

उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको छ। यसका लागि खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ। पोलहरू सारेको खण्डमा तथा खोलाले बगाएमा स्याटलाइट प्रविधिबाट हेरचाहा गर्न सकिने गरी प्रबन्ध गरिएको छ। नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले सम्वन्धित जग्गाधनीलाई पनि सहज हुने उपमहानगरपालिकाको तर्क छ।

चालु आर्थिक वर्षमा ५० किलोमिटर खोला किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने उपमहानगरले जनाएको छ। वडा नम्बर १ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट बुधवारदेखि यस्तो अभियानको सुरुवात गरिएको छ। नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बुधवारबाट उक्त कार्यक्रमको सुरुवात गरेकी हुन्। कित्तामा खोला परेको खण्डमा सूचना सार्वजनिक गर्ने उपमहानगरको तयारी छ।

नगर उपप्रमुख रानाले खोलाको क्षेत्राधिकार खाली गर्न दुईवटा प्रविधिको प्रयोग गरिएको बताइन्। उनले भनिन, ‘हामीले खोलाको क्षेत्राधिकार छुट्याएका छाँै। खोला अतिक्रमण गर्न हुँदैन भन्ने हो।’ खोला किनारमा रहेका भौतिक संरचना सीमाङ्कन गरेर हटाउने सूचना सार्वजनिक गर्ने उपहानगरपालिकाले जनाएको छ। रानाले भनिन, ‘प्रविधिको माध्यमबाट सीमाङ्कन गर्दै छौँ। यसका लागि स्याटेलाइट प्रविधिको प्रयोग गरेका छौँ। यसको माध्यमबाट पुरानो अतिक्रमण हटाउन पनि सहज हुन्छ।’

अहिलेसम्म उपमहानगरपालिकाले पाँच किलोमिटर खोलाको अतिक्रमण खाली गरिसकेको छ। धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखाका इन्जिनियर नरेन्द्र भट्टले खोलाको क्षेत्राधिकारमा संरचनाहरू निर्माण नगर्न आग्रह गर्ने र खाली गर्न सूचना सार्वजनिक गर्ने बताए। धनगढीका मुख्य खोलाको ५० किलोमिटरमा सीमाङ्कन, रेखाङ्कन र क्षेत्राधिकार खाली गर्ने काम थालिएको उनले बताए।

उपमहानगरपालिकाले बुधवारदेखि धनगढी–१ र ५ भएर बग्ने सुकुटी नालामा पिलर गाडेर डिजिपिएस राखेर यस्तो कामको सुरुवात गरेको छ। नदी तथा खोलाको सीमाङ्कन गर्न खोलानालाको सिमाना प्रस्ट हुने गरि पिल्लर गाडीर सो बिन्दुहरूको जिआइएस नक्सांनकन गर्ने र डिजिपिएस र स्याट्लाइट तस्विर प्रयोग गरी खोलाको सीमाङ्कन निगरानीको काम थालिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस