सुदूरपश्चिममा ७.९ प्रतिशत महिला ‘एकल’, एकल महिला रहेको परिवार कति?
धनगढीः सुदूरपश्चिममा एकल महिलाको संख्या बढ्दै गएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले हिजो (सोमबार) सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले कर्णालीभन्दा सुदूरपश्चिममा एकल महिलाको संख्या बढेको देखाएको छ। यो तथ्यांक २०७८ को जनगणनामा आधारित हो। तथ्यांक कार्यालयका अनुसार एकल महिला भन्नाले विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दामाथिका अविवाहित महिलालाई मानिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालय तथा त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका विज्ञहरूको समूहले एकल महिला समूहसँगको सहकार्यमा तयार गरिएको प्रतिवेदन विगतका जनगणना र सर्वेक्षणहरूका साथै संयुक्त राष्ट्रसंघले तयार गरेको जनगणनासम्बन्धी विभिन्न सिफारिसलाई समेत मनन गरी तथ्यांकको तुलनात्मक विश्लेषणका आधारमा तयार गरिएको हो।
सुदूरपश्चिममा एकल महिला रहेको परिवार १४ प्रतिशत भेटिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले एकल महिला र विधवा महिलाको तथ्यांगत तुलना भए पनि त्यसलाई टेकेर अधिकारको दृष्टिबाट अनुसन्धान गर्न आवश्यक रहेको बताइन्।
सुदूरपश्चिम प्रदेशमा विधवालाई छोडेर हेर्दा ७ दशमलव ९ प्रतिशत एकल महिला छन्। सुदूरपश्चिममा पुरुषको तुलनामा महिलाको संख्या बढी छ। २०६८ को जनगणअनुसार सुदूरपश्चिममा कुल १३ लाख ३४ हजार ६३० महिला रहेकोमा १० वर्षको अवधिमा बढेर २०७८ सम्म आइपुग्दा सो संख्या १४ लाख २१ हजार ९९७ पुगेको छ।