सुदूरपश्चिममा ७ हजार ५२५ मतदाताले कसैलाई भोट दिएनन्
वीरेन्द्र भट्ट, धनगढीः हिजो (आइतबार) सुदूरपश्चिममा भएको उपनिर्वाचनमा ७ हजार ५२५ मतदाताले कसैलाई भोट दिएका छैनन्।
सुदूरपश्चिममा उपनिर्वाचन भएका पालिकाहरुमा कुल १७ हजार ३१३ मतदाता छन्। तर ९ हजार ७८८ मतदाताले मात्र निर्वाचनमा सहभागि भएर मतदान गरेका छन्। एक गाउँपालिका उपाध्यक्ष र चार वडा अध्यक्षका लागि भएको निर्वाचनमा ठूलो संख्यामा मतदाताले कुनै पनि उम्मेदवारलाई भोट दिएका छैनन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्ष लागि ७ हजार ४६० मतदातामध्ये ३ हजार ९०३ मतदाताले मात्र मतदान गरेका छन्।
बाँकी मतदाताले कुनै पनि उम्मेदवारलाई भोट दिएका छैनन्। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदातामध्ये २ हजार ९९२, दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एक हजार २७२ मध्ये ८ सय ७७, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मध्ये एक हजार १७८ जनाले मात्र मतदान गरेका छन्। कुल मतदातामध्ये सबैभन्दा धेरै बझाङमा र सबैभन्दा कम बाजुरामा मत खसेको छ।
भोट नदिनेको संख्या उच्च
उपनिर्वाचनमा कसैलाई पनि भोट नदिनेको संख्या उच्च देखिएको छ। बाजुरामा ४८ प्रतिशतले कसैलाई पनि मतदान गरेका छैनन्। बझाङमा पनि २४ प्रतिशत मतदाताले कसैलाई पनि मतदान गरेका छैनन्। डोटीमा ४७, दार्चुलामा ३१ र कञ्चनपुरमा ४५ प्रतिशतले मतदाताले कसैलाई पनि भोट हालेका छैनन्। सुदूरपश्चिममा एक उपाध्यक्ष र चार वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा भोट नदिनेको संख्या उच्च देखिएको हो।
कसले कति पाए मत?
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरेकी छन्। कूल ७ हजार ४६० मतदातामध्ये तीन हजार ९ सय तीन मत खसेको थियो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्।
उनी एक हजार १०७ मतसहित अध्यक्ष पदमा निर्वाचिन भएका हुन्। चन्दका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरेका छन्। सोही पदका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, एकीकृत समाजवादीका जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, माओवादी केन्द्रका नाराराम कोलीले १२२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादवबहादुर चन्दले पाँच मत पाएका छन्। बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसै धिरेन्द्र पुजारा विजयी भएका छन्। पुजाराले ६५७ प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरेका छन्। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत पाएका छन्। एक हजार ५५४ मतदाता रहेको सुर्मा गाउँपालिका–४ मा कुल एक हजार १७८ मत खसेको थियो। यसअघि सो वडामा एमालले जितेको थियो। डोटीमा पनि कांग्रेसकै उम्मेदवारले जितेका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्षमा कांग्रेसका मोहन थापा विजय भएका छन्। उनले ४६८ मत प्राप्त गरी विजयी भएका हुन्।
निर्वाचन कार्यालयका अधिकृत रुद्रमणि गिरीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले ३०१ मत प्राप्त गरेका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकीकुमारी खड्का (कुँवर)ले ३१ र माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन्। १३ मत बदर भएको छ। कूल एक हजार ५९३ मतदाता रहेको सो वडामा ८३९ मत खसेको थियो। यसअघि पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए।
उता दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा पनि नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ३७६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए। माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए। १५ मत बदर भएका छन्। कूल एक हजार २७२ मतदातामध्ये ८७७ मत खसेको छ। दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ।