सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा माओवादी र रासपा शून्य, कांग्रेसले हात पार्‍यो ४ वडाअध्यक्ष

२०८१ मंसिर १७, ११:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा पाँच पदका लागि भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ।

एक उपाध्यक्ष र चार वडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को नतिजा भने शून्य आएको छ। कांग्रेस एक्लैले चार वडाअध्यक्ष हात पारेको छ। एमालेले भने एउटा उपाध्यक्ष पद मात्र जितेको छ। हिजो (आइतबार) भएको उपनिर्वाचनको सम्पूर्ण मत परिणाम आइसकेको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरेकी छन्। कूल सात हजार ४६० मतदातामध्ये तीन हजार ९ सय तीन मत खसेको थियो। निर्वाचित भण्डारी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्।

तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्। उनी एक हजार १०७ मतसहित अध्यक्ष पदमा निर्वाचिन भएका हुन्।  चन्दका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरेका छन्।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, एकीकृत समाजवादीका जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, माओवादी केन्द्रका नाराराम कोलीले १२२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादवबहादुर चन्दले पाँच मत पाएका छन्।

यस्तै बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसै धिरेन्द्र पुजारा विजयी भएका छन्। पुजाराले ६५७ प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरेका छन्। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत पाएका छन्। एक हजार ५५४ मतदाता रहेको सुर्मा गाउँपालिका–४ मा कुल एक हजार १७८ मत खसेको थियो। यसअघि सो वडामा एमालले जितेको थियो। डोटीमा पनि कांग्रेसकै उम्मेदवारले जितेका छन्।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्षमा कांग्रेसका मोहन थापा विजय भएका छन्। उनले ४६८ मत प्राप्त गरी विजयी भएका हुन्। निर्वाचन कार्यालयका अधिकृत रुद्रमणि गिरीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले ३०१ मत प्राप्त गरेका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकीकुमारी खड्का (कुँवर)ले ३१ र माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन्। १३ मत बदर भएको छ। कूल एक हजार ५९३ मतदाता रहेको सो वडामा ८३९ मत खसेको थियो।

यसअघि पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए। उता दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा पनि नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ३७६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए। माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए।  

१५ मत बदर भएका छन्। कूल एक हजार २७२ मतदातामध्ये ८७७ (६९.९४ प्रतिशत) मत खसेको छ। दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ। २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो।

कमेन्ट लोड गर्नुस