सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा मिटरव्याजीहरूको जगजगी कायमै

२०८१ मंसिर १३, ०४:३७ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुर जिल्लामा मिटर ब्याजीबाट सर्वसाधारण पीडित हुने क्रम रोकिएको छैन। तराईका यी दुई जिल्लामा मिटरव्याजमा पैसा लगानी गर्ने समूहको जगजगी नरोकिएको हो।

सरकारले गत वर्ष मिटरव्याज पीडितहरूको उजुरी लिन र आवश्यक कारबाही गर्न आयोग नै गठन गरेको थियो। सरकारले निवेदन सङ्कलन गरिरहेकै समयमा पनि कतिपय पीडित मिटरव्याजीको फन्दामा परेका विवरण सार्वजनिक भएका छन्। मिटरव्याज पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनसमेत नपाएको गुनासो गरेका छन्।

यस्तो छ मसुरियाका चौकीदार थारूको व्यथा

कैलालीको गौरीगङ्गा नगरपालिका– ११ मसुरियाका चौकीदार थारू डगौरा २०८१ साउनमा मिटरव्याजीको फन्दामा परेका हुन्। चौकीदार थारूलाई घोडाघोडी–१० नकफोडुवा गाउँका मिटरव्याजी परशुराम चौधरीले डुबाएका हुन्। परशुरामले चौकीदारको ग्रामीण विकास बैँकमा धितो राखिएको जग्गा फुकुवा गरिदिने भन्दै फसाएका हुन्। पक्षघातका बिरामी चौकोदारले उपचार गर्न आफ्नो जग्गा बैंकमा राखेर पैसा जुटाएका थिए। उनले ग्रामीण विकास बैँकमा आफ्नो जग्गा धितो राखेका हुन्।

चौकीदार थारूलाई २०८१ साउनमा परशुराम चौधरीले मसुरिया बजारमा पहिलो पटक भेटेका थिए। व्याज बुझाउन बैंक जान लागेका चौकीदारको हातबाट कागजपत्र लिएर परशुरामले बैँकको रकम चुक्ता गरिदेने भनेका थिए। चौकीदारलाई विश्वासमा लिएर परशुरामले भेट भएकै दिन टीकापुर लग्छन्। टीकापुरका बलराम डगौरासँग भेट गराएर ३७ हजार नगद दिएर बाँकी बैंकमा बुझाउनुपर्ने रकम बुझाएर बलरामले आफ्नो साढे ९ कट्ठा जग्गा सुटुक्क मिना डगौराको नाममा दर्ता गरेको चौकोदारले बताए। उनले मालपोत धनगढीमा लगेर रोक्का जग्गा फुकुवा गर्ने भन्दै थाहै नदिई मिना डगौराको नाममा दर्ता गरेको दाबी गरेका छन्। चौकीदारले बैँकमा तिर्नुपर्ने ४ लाख ३० हजार बुझाएर १० लाख मूल्यको जग्गा परशुराम चौधरी, बलराम महतो र मिना महतोले हत्याएको चौकीदारले दिनेशखबरसँग बताए। उनले भने, ‘जग्गा बैँक राखेर उपचार गरेर बाँचेको हुँ। परशुराम चौधरी, बलराम डगौरा र मिना डगौराले षड्यन्त्र गरेर जग्गा आफ्नो नाममा दर्ता गरे। अहिले म रोइरहेको छु।’

चौकीदार थारुले आफूलाई झुक्याएर परशुराम चौधरी, बलराम महतो र मिना महतोले २०८१ साउन ३२ गते जग्गा हत्याएको बताएका छन्। उनीहरूको षड्यन्त्र विरुद्ध भदौ ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन जाँदासमेत प्रशासनले उजुरी नै नलिएको गुनासो चौकीदार थारूले गरेका छन्।

चौकीदारले अहिले जग्गा फिर्ता माग्न लाग्दा बलराम र मिना महतोले १५ लाख दिनुपर्ने बताउँदै आएका छन्।

चेतरामलाई ऐनबहादुरले फसाए

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ३ का चेतराम डगौराले जोशीपुर–२ का ऐनबहादुर डगौरासँग एक लाख रिण लिएका थिए। त्यही एक लाख लिएका कारण अहिले चेतरामको दुई बिघा जग्गा रोक्का भएको छ। चेतरामलाई ऐनबहादुरले सयकडा ४ प्रतिशतका दरले व्याज जोड्ने गरी २०७३ मा एक लाख दिएका थिए। तर ऐनबहादुरले साँवा र चक्रिय व्याजसमेत जोडी २०७९ कात्तिक २५ गते लेखिएको लेनदेनको कागजमा चेतरामले ७ लाख २० हजार तिर्नुपर्ने बनाइएको छ। सोही काजगका आधारमा ऐनबहादुरले जिल्ला अदालत कैलालीमा चेतराम विरुद्ध गत वर्ष मुद्दा दर्ता गरेकामा चेतरामले मुद्दा हारेका छन्। अदालतको फैसालअनुसार अहिले चेतरामको दुई बिघा जग्गा रोक्का भएको हो।

चेतरामलाई मिटर व्याजमा एक लाख दिएकै मितिमा ऐनबहादुरले जोशीपुर–३ कै दिपेन्द्र चौधरीलाई पनि २५ हजार दिएका थिए। त्यो रकमको पनि मिटर व्याज जोडेर ३०७९ कात्तिकसम्मको दिपेन्द्रले ३ लाख ३९ हजार तिर्नुपर्ने कागज तयार गरिएको छ। दिपेन्द्र विरुद्ध पनि जिल्ला अदालत कैलालीबाट मुद्दा जितेका ऐनबहादुरलेदिपेन्द्रको जायजेथा समेत रोक्का गरेका छन्। अदातमा समेत आफू र साढु भाइ दिपेन्द्रले न्याय पउन नसकेको मिटरव्याज पीडित चेतराम डगौराको गुनासो छ। ‘म र मेरो साडु भाइलाई मिटर व्याजमा फसाउने ऐनबहादुरले अदालतबाट मुद्दा जितेको छ। हामीले अदालतमा पनि न्याय पाउन सकेनौँ,’ उनले भने, ‘हाम्रो वकिलले समेत हामीलाई साथ नदिँदा पुनरावेदन गर्न समेत सकेनौँ। अहिले दुबै जनाको जग्गा रोक्का भएको छ। अदालतले १० प्रतिशतका दरले सो रकमको व्याज समेत तिर्नुपर्ने फैसला गरेको छ।’

सीता र अनिलको पीडा यस्तो 

कञ्चनपुरको भीमदत्त नगरपालिका– १५ की सीता ऐरको एक कट्ठा ४ धुरमा बनेको साढे दुई तले घर मिटर व्याजीले दोस्रो व्यक्तिलाई बिक्री गरेका छन्। सिताले छोरोको उपचारका लागि भीदत्तनगरपालिका–१५ का पदमसिंह बिष्टसँग ८ लाख रिण लिएर घर जग्गा दृष्टि बन्दकी राखेकी थिइन्। सिताले २०७७ पुस ९ गते रकम लिएकी थिइन्। पदम बिष्टले सो घरसहितको जग्गा २०७८ साउन १८ मा कृष्णपुर नगरपालिका–५ का अमरबहादुर कुँवरलाई बिक्री गरेका हुन्। अहिले सिताले सो घर र जग्गा खाली गर्न पदमबहादुरले दबाब दिने गरेको सिता ऐरको गुनासो छ।

यसैगरी ट्याक्टर दुर्घटनामा परेर सख्त घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमालका अनिल रावतले २०७४ माघ १० गते ८ कट्ठा ४ धुर दृष्टि बन्दकी राखेर धनगढीका लिलाधर जोशीबाट१० लाख लिएकोमा रावतले २ लाख ३५ हजार फिर्ता गरेका छन्। बाँकी रकम र व्याज समेत जम्मा गरेर जग्गा फिर्ता माग्न जाँदा लिलाधरले आफ्नो जग्गा २०७५ साउनमै धनुषाकी स्मृति घिमेरेलाई बिक्री गरेका छन्। पाँच वर्षको पैसा तिर्ने भाका विपरीत काम गरेर लिलाधरले आफूलाई फसाएको हिड्न समेत नसक्ने अवस्थामा रहेका रावतले बताए। उनले दृष्टि बन्दगीको सर्त विपरीत लिलधार भट्टले आफ्नो जग्गा तेस्रो पक्षलाई बिक्री गरेको दाबी गरेका छन्। मिटरव्याजीको फन्दामा पर्दा आफ्नो स्वास्थ्य अवस्थासँगै भएको जायजेथा समेत गुमेको अनिलले बताए।

सरकारले मिरट व्याज पीडितलाई न्याय दिन आयोग गठन गरेर निवेदन दिन भने पनि स्थानीय प्रशासनबाटै सहयोग नमिलेको पीडितहरूले गुनासो गरेका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस