सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-कञ्चनपुरमा भारतीय तरकारी र फलफूलको आयातमा रोक

२०७६ असार ८, ०२:५५ नवराज पनेरु

कैलाली-कञ्चनपुरमा भारतीय तरकारी र फलफूलको आयातमा रोक लगाईएको छ। विषादी परिक्षण विना भारतीय तरकारी र फलफूलको आयातमा प्रतिवन्ध लगाउन भन्सार विभागले निर्देशन दिएपछि आयातमा रोक लगाईएको हो। भन्सार विभागले असार २ गते नै परिपत्र गरेपनि दुई जिल्लाका भन्सार कार्यालयहरुले भने शुक्रवारदेखि मात्रै तरकारी र फलफूलको आयातमा रोक लगाएका हुन्। भन्सार विभागको परिपत्रमा क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएका सबै फलफूल तथा तरकारी आयातमा प्रतिवन्ध लगाउन निर्देशन दिईएको छ। भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख गोपिकृष्ण उप्रेतीले भन्सार विभागको परिपत्र पछि तरकारी र फलफूलको आयात रोकिएको स्विकार गरे। ‘विषादी परिक्षणपछि मात्रै तरकारी र फलफूल आयात गर्न निर्देशन भएको छ,’ उनले भने, ‘विषादी परिक्षणको व्यवस्था सुदूरपश्चिमका कुनै पनि स्थानमा छैन्।’

भन्सार कार्यालय कञ्चनपुरक निमित्त प्रमुख रामप्रशाद पोखरेलले पनि क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएपछि फलफूल र तरकारी आयात रोकिएको जानकारी दिए। ‘भारतका विभिन्न स्थानबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमै रोकिएका छन्,’ उनले भने, ‘उपकरण र दक्ष जनशक्ति छैन। जाँच नहुँदा सबै तरकारी रोकिएका छन्।’ कैलाली र कञ्चनपुर भन्सारबाट दैनिक आलु, प्याज, हरियो तरकारी, खुर्सानी, कागती, आँप लगायतका तरकारी र फलफूलका ट्रकहरु भित्रिँदै आएका थिए। विषादी परीक्षण गरेर तरकारी ल्याउने निर्णय राम्रो भएपनि भन्सारमा क्वारेन्टाइन चेकजाँच गर्ने प्रयोगशाला नहुँदा समस्या हुने देखिएको छ। 

कृषि उपज थोक बजार समिति अत्तरियाका अध्यक्ष नन्दलाल भट्टले विषादी जाँच विना तरकारी र फलफूलको आयातमा प्रतिवन्ध लगाउने सरकारी निर्णय स्वागतयोग्य भएको बताए। ‘यस्ले नेपाली किसानले उत्पादन गरेको तरकारी र फलफूलले सहजै बजार पाउने छ,’ उनले भने, ‘तरकारी र फलफूल खेती लाग्न यो निर्णयले युवा किसानहरुलाई प्रेरीत पनि गर्ने छ।’ उनले नेपाली तरकारीको विषादी परिक्षणका लागि अत्तरियामै प्रयोगशाला समेत रहेको जानकारी दिए। व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को सहयोगमा झण्डै २६ लाखमा खोलिएको प्रयोगशाला कृषि उपज थोक बजार समिति अत्तरियाले नै सञ्चालन गर्दै आएको समितिका अध्यक्ष भट्टले जानकारी दिए। प्रयोगशालामा २ जना सरकारी कर्मचारी कार्यरत छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस