सेती नदीले वर्षेनि लिन्छ ज्यान, संगीताको सपना सेतीमै बिलायो
धनगढीः सेती नदीले बर्सेनि ज्यान लिने गरेको छ। सेती नदीमा बगेर युवकसँगै कयौं युवतीको समेत अकालमै मृत्यु भइसकेको छ।
आज (आइतबार) विहान मात्रै सेती नदीमा बगेर बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको मृत्यु भएको छ। उनी चिप्लिएर सेती नदीमा बगेको वडाअध्यक्ष करनजंग सिंहले बताए। मृतकको शव पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको उनले बताए।
एक महिना अघि मात्रै बग्दै गरेको अवस्थामा सेती नदीबाटै एक अर्की युवतीको उद्दार गरिएको थियो। २५ वर्षीया ती युवतीको बग्दै गरेको अवस्थामा उद्दार गरिएको भएपनि अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यी दुई घटना हालै मात्र घटेका हुन्।
चार वर्षयता सेती नदीमा बगेर यसैगरी कयौं युवायुवतीसँगै किशोर÷किशोरीले समेत ज्यान गुमाइसकेका छन्। सेतीमा पानीको बहाव बढी हुने भएकाले नदीमा नुहाउन गएकामध्ये कतिपय बगेर बेपत्ता हुने गरेका र कम्तीमा पनि एक हप्तापछि नदीमा तैरिएको अवस्थामा फेला पर्ने गरेको स्थानीय भरत द्वारियाले बताए।
सेती नदीमा नुहाउन गएका केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल, शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका–१० का पाँच वर्षीय गोविन्द बलायरलाई पनि सेती नदीले बगाएको थियो।
यसैगरी आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्की, दिपायल–सिलगढी नगरपालिका–४ राजपुर घर भएकी ८ वर्षीया बालिका करिश्मा नेपाली सेतीमा नुहाउन गएका बेला बगेर ज्यान गुमाउन पुगेका छन्। सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको स्थानीयको भनाई छ। सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनप्रतिनिधिहरु बताउँछन्। नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा छन्।