सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा श्रीमानले घरमा लगाएको आगोमा जलेर एक महिलाको मृत्यु

२०७६ असार ८, ११:११ नरेन्द्र कार्की

दार्चुलामा श्रीमानले घरमा लगाएको आगोमा जलेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डुका ३२ वर्षीय शेरसिह बडालले मदिरा सेवन गरी घरमा आगो लगाएपछि सामान निकाल्ने क्रममा जलेर उनकी श्रीमती ३० वर्षीया विमला बडालको मृत्यु भएको हो। गएराती १० बजेको समयमा अत्यधिक मदिरा सेवन गरी गरी घर पुगेका बडालले परिवारसँग झगडा गरेका थिए।

झगडा पछि परिवारका सबै सदस्य भागेर राती नै घर नजिकैको जंगल पसेको नौगाड गाउँपालिका वडा नम्बर २ का वडा सदस्य जयभान सिंह ठगुन्नाले बताए।  बडालले घरमा कोही नभएको भन्दै आफु सुत्ने कोठामा आगो लगाएपछि उनीहरु जंगलबाट फर्किएका थिए। बडालका श्रीमती सामान निकाल्न भन्दै भित्र पसेको र सोही क्रममा जलेर उनको मृत्यु भएको वडा सदस्य ठगुन्नाले बताए।

बडालेको धुवाले निसास्सीएर मृत्यु भएको हुन सक्ने  वडा अध्यक्ष नरेन्द्रसिह ठगुन्नाले बताए। अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपेन्द्र बहादुर शाही सहितको प्रहरी टोली  घटना स्थल पुगेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक शाहीले बताए।

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस