बैतडीको मेलौली र शिवनाथमा आज र भोलि सार्वजनिक बिदा
बैतडीः बैतडीको दुई पालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका छन्। जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। मेलौली नगरपालिका–१ स्थित प्रसिद्ध मेलौली भगवती जात्राको अवसरमा नगर क्षेत्रभरी सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
आज र भोलि नगरक्षेत्रभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थामा बिदा रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए। मेलौली भगवतीको जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने र यो क्षेत्रको प्रसिद्ध जात्रा भएकाले हरेक वर्ष जस्तै यो वर्ष पनि बिदा दिइएको नगरपालिकाले जनाएको छ।
यस्तै शिवनाथ गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर–४ स्थित प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको जनाएको छ। उक्त जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागितालाई दृष्टिगत गरेर कार्तिक ८ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार आज र भोलि दुई दिन पालिकाभरी सार्वजनिक बिदा रहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए।
देहीगडा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन्। यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाको वडा नम्बर–५स्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिकाले जनाएको छ। फाल्ङासैनी भगवती मन्दिरमा आज र भोलि दुई दिन जात्रा लाग्ने गर्दछ। जात्राको मुख्य दिन भोलि भएकाले भोलि पालिकाभरीका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थाहरु लगायतमा बिदा रहेको सुर्नया गाउँपालिकाले जनाएको छ।