कैलालीमा बर्सेनि घट्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट
धनगढीः कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट वर्षेनि घट्दै गएको छ। जिल्लामा आर्थिक वर्ष २०७३/७४ सालबाट सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन)को बजेट घट्दै गएको हो।
नेपाल सरकार, कृषि तथा पशुन्छी विकास मन्त्रालय मातहतको उक्त परियोजनाका लागि सुरुको वर्षमा ६ करोड ६१ लाख १४ हजार ८ सय बजेट विनियोजन गरिएको थियो। पहिलो आर्थिक वर्ष सो परियोजनामार्फत ठुला उपकरण तथा उद्योगहरू सञ्चालनका लागि समेत अनुदान वितरण गरिएको थियो। कार्यक्रम सुरु भएको पहिलो वर्ष परियोजनाले ८७ दशमलव ९८ प्रतिशत अर्थात् पाँच करोड ८१ लाख ७८ हजार बजेट खर्च गरेको थियो। पहिलो वर्ष परियोजनाको ७९ लाख ३६ हजार ८ सय मात्र फिर्ता गएको थियो। पहिलो वर्ष जिल्लाको कैलारी गाउँपालिका क्षेत्रमा गहुँको उत्पादन वृद्धिका लागि मात्र कार्यक्रम सुरुवात गरिएको थियो। परियोजनाको कार्यालय, कैलालीमा स्थापना गरेर गहुँको बिउ, उपकरण, सिँचाइ मोटर लगायतमा अनुदान वितरण गरिएको हो।
परियोजना सुरु भएको दोस्रो आर्थिक वर्ष २०७४/७५ मा पाँच करोड ३३ लाख ७६ हजार बजेट विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०७४/७५ मा नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कैलालीको बजेट घटेको देखिन्छ। उक्त आर्थिक वर्षमा एक करोड २७ लाख ४७ हजारले बजेट घटेको हो। २०७४/७५ मा ७० दशमलव ०५ प्रतिशत अर्थात् तीन करोड ७३ लाख ९५ हजार खर्च भएको हो। आर्थिक वर्ष २०७५/७६ मा चार करोड ७७ लाख ६० हजार बजेट विनियोजन गरिएको थियो। उक्त आर्थिक वर्षमा बजेटको ५४ दशमलव ४८ प्रतिशत अर्थात् २ करोड ६० लाख २१ हजार रुपैयाँ खर्च भएको छ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा पाँच करोड १८ लाख बजेट परियोजनाले प्राप्त गरेको थियो। उक्त आर्थिक वर्षमा तीन करोड मात्र बजेट खर्च भएको थियो। परियोजनाले आर्थिक वर्ष २०७६/७७ मा ५९ दशमलव ५९ प्रतिशत बजेट खर्च गरेको हो। परियोजनाले आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ६९ लाख मात्र बजेट पाएको थियो। उक्त आर्थिक वर्षमा ७३ दशमलव ७६ प्रतिशत अर्थात् २ करोड ७२ लाख मात्र बजेट खर्च भएको थियो। यस्तै आर्थिक वर्ष २०७८/७९ मा चार करोड ६५ लाख बजेट विनियोजन गरिएको छ। उक्त आर्थिक वर्षमा ६२ दशमलव २९ प्रतिशत बजेट खर्च भएको छ। परियोजनाले २ करोड ८९ लाख बजेट खर्च गरेको हो। आर्थिक वर्ष २०७९/८० मा पाँच करोड सात लाख बजेट पाएको थियो। उक्त आर्थिक वर्षमा ५७ दशमलव १२ प्रतिशत अर्थात् २ करोड ८९ लाख मात्र बजेट खर्च भएको हो।
आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ६३ लाख बजेट विनियोजन गरिएकोमा २ करोड ७६ लाख मात्र खर्च भएको छ। गत आर्थिक वर्षमा विनियोजन गरिएको बजेटमा ४९ दशमलव शून्य १ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ६५ लाख बजेट विनियोजन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गहुँबाट सुरु भएकोमा माछा पोखरीसम्म विस्तार भएको छ। तर, प्रत्येक आर्थिक वर्षमा बजेट र खर्चको दर घट्दै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) सुरुवात भएको दोस्रो वर्षबाट तेलहन जोन सुरुवात गरिएको थियो। २०७८/७९ मा धान जोनसमेत सुरुवात गरिएको छ। विशेष गरेर चैते धान खेतीको विस्तारका लागि धान जोन थप गरिएको छ। चालु आर्थिक वर्षमा माछा पालतको जोनसमेत विस्तार गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कैलालीले ९ आर्थिक वर्षमा ४६ करोड ६० लाख ७९ हजार बजेट पाएको छ। आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ को हालसम्म परियोजनाले २६ करोड ८२ लाख ६४ हजार मात्र खर्च गरेको छ। हालसम्म विनियोजन गरिएको बजेटमा ५७ दशमलव ५५ प्रतिशत मात्र खर्च भएको पाइएको छ।