सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट ७ पटक चुनाव जितेका देउवा गृहजिल्ला पुगेपछि...

२०८१ कार्तिक २८, ०२:४० खबर संवाददाता

धनगढीः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला गृह जिल्ला डडेल्धुरामा छन्।

देउवा २ वर्षपछि संघीय राजधानीबाट आफ्नो गृहजिल्ला पुगेका हुन्। २०७९ मंसिर ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान गरेर देउवा सोही दिन संघीय राजधानी फर्किएका थिए। लामो समयपछि सोमबार मात्र गृह जिल्ला पुगेका पार्टी सभापति देउवा यतिबेला पुराना नेता एवं कार्यकर्ता भेटघाटदेखि विभिन्न धार्मीक र पर्यटकीय स्थलको अवलोकन भ्रमणमा केन्द्रित छन्।

उनले पर्यटकीय क्षेत्र आलिताल त्यसपछि परशुराम धामको दर्शन गरिसकेका छन्। नेताकार्यकर्ता भेटघाटको क्रममा देउवाले डडेल्धुरामा अधुरा रहेका विकासका कामलाई पूर्णता दिने आश्वासन पनि दिइरहेका छन्। रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण गर्ने, परशुराम नगरपालिका ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण गर्ने देउवाले बताएका छन्।

साथै महाकालीमा भारत जोड्ने पक्की पुल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढेको बताएका छन्। डडेल्धुरा बसाइँकै क्रमा देउवालाई माओवादी केन्द्र परशुराम नगर कमिटीले एक सय ७२ बुँदे ध्यानाकर्षणपत्रसमेत बुझाएको छ। नगर कमिटी अध्यक्ष शेरसिंह मालको नेतृत्वमा मागपत्र बुझाइएको हो।

परशुरामबाट डडेल्धुरा जिल्ला सदरमुकाम जाने क्रममा बाजागाजासहित स्वागत गरिएपछि देउवा निकै उत्साहित समेत बनेका छन्। देउवा २०७० पछि पहिलोपटक सडक मार्ग भएर  गृहजिल्ला पुगेका हुन्। जिल्ला सभापति भीमबहादुर साउदले देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा पनि सहभागि भएका छन्। उनले आज २८ गते पालिकास्तरीय भेटघाट र भोलि २९ गते कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ।

उनी ३० गते आफ्नो गृहपालिका गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुनेछन्। पूर्वप्रधानमन्त्रीले देउवाले डडेल्धुराबाट ७ पटक चुनाव जितिसकेका छन्। २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट पहिलोपटक विजयी भएका थिए। देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ र २०७९ को संसदीय चुनाव जितेका थिए। देउवा पाँच पटक प्रधानमन्त्रीसमेत भइसकेका छन्।

कमेन्ट लोड गर्नुस