सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली चलचित्रः कसले कति कति कमाए? 

२०८१ कार्तिक २४, ०३:४९ खबर संवाददाता

काठमाण्डौंः यो वर्ष नेपाली फिल्मका लागि अवस्था फरक देखियो। वर्षको सुरुआतीदेखि नै नेपाली फिल्म क्षेत्रले फरक अनुभव गरिरहेको छ।

वैशाखमा प्रदर्शनमा आएको सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले छरेको आशाको किरण त्यसपछि पनि निरन्तर छ। फिल्म व्यावसायिक रुपमा सफल मात्र भएका छैनन्, कमेडी विधाका फिल्मले मात्र बाजी मारिरहेको बेला सामाजिक विषयवस्तुमाथिको गम्भीर कथाहरूलाई पनि दर्शकले स्वागत पाइरहेका छन्। ‘पूजार सार्की’ होस कि ‘फर्की फर्की’, होस् वा ‘घरज्वाइँ’। ‘मनसरा’ र डिग्री’ माइलाको कमाइ पनि निराशाजनक भने थिएन।

प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा यात्रा गरेको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले पनि नेपालमा सन्तुष्टजनक व्यापार गर्‍यो। फिल्मले ४ करोड रुपैयाँभन्दा बढीको व्यापार नेपालबाटै गरेको थियो। दशैंभन्दा केही साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले पनि मनग्गे दर्शक पायो। फरक–फरक विधाका फिल्म एकपछि अर्को व्यावसायिक रुपमा सफल भइरहँदा यसले फिल्म क्षेत्रमा सकारात्मक सन्देश पनि दिइरहेको छ।

१६ असोज घटस्थापनको दिन प्रदर्शन भएको सजन काफ्ले र आकाश बराल निर्देशित फिल्म ‘बेहुली फ्रम मेघौली’ हलमा चौध दिन लाग्यो। दुई सातामा फिल्मले करिब ४ करोडको व्यापार गरेको फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतको दाबी छ। तर फूलपातीमा प्रदर्शनमा आएका तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’का कारण ‘बेहुली फ्रम मेघौली’को कशो संख्या घट्न थाल्यो।

शो संख्या कम पाएपछि निर्माता निश्चलले फिल्म हलमा नचलाउने निर्णय गरे। ‘बेहुली फ्रम मेघौली’ अहिले डिजिटल प्लेटर्फमार्फत शुल्क तिरेर हेर्न पाईन्छ। ओटीटी प्लाटफर्म एमएसएम मा ‘बेहुली फ्रम मेघौली’लाई १० दिनमा १९ हजार पटक हेरिएको छ। निश्चलका अनुसार यो करिब ७५ लाखको व्यापार हो। यो फिल्मका लागि उक्त प्लाटफर्ममा कम्तिमा ५० हजार दर्शक पुर्‍याउने लक्ष्य निर्माण टिमको छ।

२४ असोज फूलपातीमा प्रदर्शनमा आएको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ‘अनपेक्षित’ व्यापार गरिरहेको छ। फिल्म रिलिजको चौथो हप्तासम्मको व्यापार बिहीबार निर्माण टिमले सार्वजनिक गरेको थियो। वितरक गोविन्द शाहीका अनुसार चौथो हप्तासम्म फिल्मको व्यापार २५ करोड ५० लाख भन्दा माथि छ। पछिल्ला वर्षहरूमा नेपालमा एक्सन विधाका फिल्महरूको ‘खडेरी’ नै थियो।

बनेका एकाध फिल्महरूले लगानी पनि सुरक्षित गर्न सक्ने अवस्था थिएन। यो फिल्ममार्फत् छोरा समीरलाई डेब्यू गराएर कमब्याक भएका विराजले व्यापारमा छलाङ नै मारे। फिल्मको शो विस्तारै कम हुँदै गए पनि हलहरूमा दर्शक भरिभराउ छन्।  फूलपातीकै दिन प्रदर्शन भएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ले पनि दर्शकमाथिको पकडलाई कायम राख्यो। एक साताअघि निर्माण टिमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्मले १९ करोडमाथिको व्यापार गरेको थियो। त्यसयता भने फिल्मको शो संख्या खुम्चँदै गइरहेको छ। पछिल्लो कमाइको तथ्यांङ भने सार्वजनिक गरिएको छैन। वितरक मनोज राठीका अनुसार पछिल्लो कमाइको रेसियो भने घटेको छ। –कान्तिपुरबाट

कमेन्ट लोड गर्नुस