सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ५० स्थानबाट धान उत्पादनको तथ्यांक संकलन

२०८१ कार्तिक २४, ०२:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका किसानले धान भित्र्याइसकेका छन्। मध्य जेठबाटै रोपाइँ थाल्ने भएकाले यहाँका किसानले छिटो धान काटेका हुन्।

अहिले धान काटेको जग्गा जोतेर हिउँदे बाली मुसुरो, तोरीलगायत लगाउने तयारीमा किसान छन्। तिहारअघि नै धान भित्र्याएका धनगढी उपमहानगरपालिका–५ का कृषक रामप्रसाद चौधरीले खेत जोतेर गहुँ छर्न लागेको बताएका छन्। कृषि ज्ञानकेन्द्र कैलालीका सूचनाअधिकारी श्याम जोशीले उत्पादन ७ देखि ८ प्रतिशतसम्म बढेको आंकलन गरिएको बताए।

जिल्लाभरि ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्यांक संकलन गरिएको ज्ञानकेन्द्र प्रमुख हरिप्रसाद पनेरूले बताए। सुदूरपश्चिममा यो वर्ष एक लाख ७४ हजार पाँच सय ७६ हेक्टरमा रोपाइँ भएको थियो। धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ७ मेट्रिकटन रहेको ज्ञानकेन्द्रले जनाएको छ। आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकको भनाइ छ। कैलालीमा करिब ६८ हजार हेक्टरमा धानखेती हुने गरेको छ।

कमेन्ट लोड गर्नुस