सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘हर घडी नगर प्रहरी’ सार्थक बन्दै, गरियो ४० जना अलपत्रको उद्धार

२०८१ कार्तिक २४, ०२:०९ अनिता चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा कार्यरत नगर प्रहरी बलको भुमिका प्रभावकारी बन्दै गएको छ। 

नगर प्रहरीमा सडकमा अलपत्र परेकाहरुको पनि उद्धार गर्न थालेको छ। नगर प्रहरीले विहीवार भारतको आजमगड, खैराग्राम युपी घर भएका अजयकुमार यादवलाई अस्वस्थ अवस्थामा धनगढी–८ भगत टोलबाट उद्धार गर्‍यो। स्थानीयले उपमहानगरपालिकामा खबर गरेपछि नगरप्रहरीले उद्धार गरेर यादवलाई मानव सेवा आश्रममा बुझायो।

यस्तै धनगढी–१८ फुलबारी चेलीबेटी चोकदेखि २ किलोमिटर पुर्वबाट अलपत्र अवस्थामा फेला परेकी २८ वर्षीया शान्तिकुमारी चन्द सिंह र धनगढी–१८ को आदर्श चोकबाट अन्दाजी ४० वर्षीया सिता पार्की नाम बताउने महिलालाई अलपत्र अवस्थामा नगरप्रहरीले उद्धार गर्‍यो। यी दुबै जनालाई नगरप्रहरीले उद्धार गरेर धनगढी–५ तारानगरमा मानव सेवा आश्रामको जिम्मा लगाएको छ।

यसरी नै सडकमा अलपत्र परेका ४० जनालाई नगर प्रहरीले उद्धार गरिसकेको छ। कुनै व्यक्ति बिरामी हुँदा अस्पताल पुगाउनेदेखि अन्तिम दाहसंस्कारमा समेत नगर प्रहरीले सहयोग गर्दै आएको छ। ‘हर घडी नगर प्रहरी’ अभियानसहित धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले खोज उद्धारदेखि शव चिस्यान सेवासम्मको सेवा प्रदान गर्दै आएको छ।

नगर क्षेत्रबाट सहयोगका लागि फोन आउने बित्तिकै नगर प्रहरी सहयोग गर्न तत्काल खटिने व्यवस्था मिलाइएको धनगढी नगर प्रहरी प्रमुख धर्मानन्द जोशीले बताए। जोशीका अनुसार दैबीप्रकोपदेखि नगरक्षेत्रमा अलपत्र परेका तथा बिरामी हुँदा उपचार गर्न अस्पताल लैजाने/ल्याउनेसम्मको काम हुँदै आएको छ। आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउनेवित्तिकै आवश्यकता अनुसार नागरिकलाई सेवा दिने गरेको जोशीको भनाई छ। उपमहानगरभित्र हाल ४४ जना नगर प्रहरी कार्यरत छन्।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस