‘कैलालीमा खाद्य तथा व्यापार कम्पनीमा धान बेच्न किसान आएनन्’
धनगढीः यही कार्तिक ११ गतेदेखि किसानबाट धान खरिद गर्न सुरु गरेको खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, धनगढीले अपेक्षाअनुसार धान खरिद गर्न सकेको छैन।
खाद्यले धनगढीस्थित मोहनपुर, टीकापुर र सत्ती गरी तीन गोदामबाट ५५ हजार क्विन्टल धान खरिद गर्न लागेको छ। तर सोमबारसम्म तीन हजार क्वीन्टल मात्र धान खरिद गरिएको खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी निमित्त प्रमुख इन्जिला बस्नेतले बताएकी छन्।
समयमै धान खरिदका लागि सूचना जारी गरिएको भए पनि अहिलेसम्म तीन हजार क्वीन्टल मात्र धान खरिद गर्न सफल भएको उनले बताएकी हुन्। कम्पनीले गत आर्थिक वर्ष पनि लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन। कम्पनीले गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि गरेको भए पनि किसान भने गल्ला व्यापारीलाई नै धान बिक्री गर्दै आएका छन्।
सोमबारदेखि भजनीबाट पनि धान खरिद गर्ने काम सुरु भएको निमिक्त प्रमुख बस्नेतले बताएकी छन्। कम्पनीले मोटा धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। गत आर्थिक वर्षमा कम्पनीले मोटा धान प्रतिक्विन्टल ३ हजार १ सय ५८ रुपैयाँमा खरिद गरेको थियो। यस वर्ष भने मूल्य बढाएर प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ। कैलालीबाट मोटा धान मात्र खरिद गर्ने खाद्यको योजना छ।
मूल्यवृद्धि गरेको भए पनि गत वर्ष झैं कैलालीका धेरैजसो किसानले खाद्यमा धान विक्री गर्न मानिरहेका छैनन्। तिहारअघि कैलालीमा तीन ठाउँबाट मात्रै खरिदको योजना भए पनि तिहारपछि भजनी, बर्दगोरिया, हसुलियालगायत ६ स्थानबाट खरिद गरिने खाद्य कम्पनीले जनाएको छ। कैलालीबाट यस वर्ष ५५ हजार क्विन्टल मोटा धान खरिद गर्ने योजना रहेको खाद्यले जनाएको छ। प्रति किसानबाट ५० क्वीन्टलसम्म धान खरिद गर्ने योजना खाद्यको छ।