सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रमः ३७ करोडको झार सफाई

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मुख्यमन्त्रीको निवास अगाडी सफाई गरिदै
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मुख्यमन्त्रीको निवास अगाडी सफाई गरिदै
२०७६ असार ६, १२:२२ नवराज पनेरु

देशमा विद्यमान बेरोजगारी घटाउने भन्दै यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पनि कार्यन्वयन भएको छ। प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अधिकासंले असार लागेपछि रोजगार कार्यक्रम सुरु गरेका छन्।

८८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढि कैलालीको धनगढी उप–महानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक–एक करोड बजेट पाएका छन् भने अन्य स्थानीय तहमा रोजगार कार्यक्रम सञ्चालनका लागि १८ लाख भन्दा बढि र एक करोड भन्दा कम बजेट विनियोजन भएको छ।

प्रदेशभरीका लागि ३७ करोड १९ लाख बजेट विनियोजन भएकोमा प्रदेशका स्थानीय सरकारले आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रम कार्यन्वयन गरिरहेका छन्। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा नालीमा झार सफाई भईरहेको छ भने पहाडी जिल्लामा घोरेटो बाटोमा झार सफाई भईरहेको छ।

रोजगार कार्यक्रम सञ्चालन गर्दा न बजेटको सदुपयोग तिर ध्यान दिएको छ न त श्रमीकहरुको कार्य दक्षताको नै ख्याल गरिएको छ। जस्ले गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम सुदूरपश्चिम प्रदेशमा बजेट सक्ने मेसो मात्रै भएको आरोप लाग्न थालेको छ। 

श्रमीकहरुकै मन जित्न सकेन
कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का युवा नरदीप धामीले  प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा संयोजकको जिम्मेवारी पाएका छन्। कार्यक्रम अन्तरगत वडा नम्बर ११ का कामदारको नेतृत्व गर्ने गरी संयोजकको जिम्मा पाएका धामीले आफ्नो समूहसंगै अहिले कुलो खन्ने र खनिएको कुलोमा झार सफाईको काम गरिरहेका छन्।

अध्ययनका हिसाबले कम्प्युटर अपरेटर भएका धामीलाई स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्य अनुसार कार्यान्वयन नभएपछि कुलो सफाई गरेर आफ्नो दक्षता बढ्ने रतिभर पनि विश्वास छैन्। ‘कार्यगत सीप र दक्षताको आधारमा कामको बाडफाड भएन्।’

उनले भने, ‘झार सफाई गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्येश्य पुरा हुने विश्वास छैन्।’ रोजगार कार्यक्रममै ताल सफाई गरिरहेकी धनगढी उप–महानगरपालिका वडा नम्बर १५ कि महेश्वरी रानाले सीप अनुसारको काम पाउनेमा आशा गरिएको भएपनि नपाउँदा निराश भएको बताईन्।

‘आफूमा फरक किसिमको सीप भएपनि बेरोजगारी समस्याले प्रधानमन्त्री रोजगार कार्यक्रममा जस्तो सुकै काम दिएपनि गर्न बाध्य हुनु परेको छ।’ उनले भनिन्, ‘सीप र कार्यगत दक्षता नभएका बेरोजगारलाई पनि प्रधानमन्त्री कार्यक्रम मार्फत आन्मनिर्भर बनाउनुपर्ने बेला हातमा सीप भएकाहरु नै उचित स्थान नपाउँदा निराशा थपिएको छ।’

बजेट सक्ने मेसो, मुख्यमन्त्री निवास अगाडी पनि सफाई
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा झण्डै ३० को सङख्यामा रहेका महिलाहरु विहिवार वडा कार्यलय अगाडी जम्मा भए। केहि बेरमा वडा कार्यालय अगाडीको नालीमा रहेको झारपात सफाई सुरु भयो।

वडा कार्यालयबाट सुरु भएको नाली सफाई मुख्यमन्त्री त्रिलोचन भट्टको निवास सम्म पुग्यो। श्रमीकहरुले झण्डै २ घण्टा सम्म नाली सफाईको काम गरे अनि घरतिर लागे। धनगढी उप–महानगरपालिकाका रोजगार संयोजक चन्द्र वहादुर महराका अनुसार रोजगार कार्यक्रम अन्तरगत दैनिक ८ घण्टा सम्म श्रम गर्नुपर्ने हो।

तर अधिकासं स्थानीय सरकारमा रोजगार कार्यक्रममा दैनिकी २ देखि ३ घण्टा मात्रै काम हुने गरेको छ। २ घण्टा सफाई गरेर दैनिकी ५ सय १५ रुपैँया श्रमीकहरुले पाउँदै आएका छन्। रोजगार कार्यक्रमका लागि छनौट भएका अधिकासं श्रमीकहरुले त अहिले आफ्नै घर अगाडीको नाली सफाई गरेको समेत श्रम पाउन थालेका छन्।

धनगढी उप–महानरपालिका वडा नम्वर ४ कै भुवन भट्टले धेरै श्रमीकले आफ्नै घर अगाडीको नाली सफाई गरेर दैनिक ज्याला कमाएको बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले देशमा रोजागारीको वातावरण ल्याउने आशा थियो।’ उनले भने, ‘तर कार्यक्रम मार्फत त बजेट सक्ने मेसो मात्रै भईरहेको छ।’ 
बजेट सक्न हतार 
प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधि २५ दिन बाँकी रहेको अवस्था अहिले सम्म पनि सुदूरपश्चिम प्रदेशका केहि स्थानीय तहले योजना छनोट गरेका छैनन्। छानिएका युवालाई के काम दिने भन्ने टुंगो नलाग्दा कार्यक्रम कार्यन्वयन हुनेमा पनि आशंका बढेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८२ लाख बजेट पाएको गोदावरी नगरपालिकाले दुई चरणमा गरी झण्डै पाँच हजार वेरोजगारको आवेदन परेपनि केहि वडामा अहिले सम्म योजना छनौट भएका छैनन्। गोदावरी नगरपालिकाका रोजगार संयोजक रामलाल भट्टले छनौटको प्रक्रिया सकिने चरणमा पुगेको बताए। 
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ३० दिन श्रम गर्नुपर्नेमा समय अभाव भएपछि कतिपय स्थानीय तहले त १५ दिनमै सक्ने योजना अगाडी सारेका छन्। डोटीको केआईसिंह गाउँपालिकाका रोजगार संयोजक विरन्द्र साउँदले समय अभावका कारण १५ दिन मात्रै रोजगार कार्यक्रम सचालन हुने बताए। ‘श्रमीकको सङख्या दोव्वर बनाएका छौ।’ उनले भने, ‘समय अभावले १५ दिनमै कार्यक्रम सकिने छ।’ 

प्रभावहिन कार्यक्रम
वेरोजगारलाई स्थानीय स्तरमै रोजगारी दिने उद्देश्यले लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यगत सीप र दक्षताको वेवास्ता गरिएको छ। व्यक्तिको कार्यगत सीप र दक्षताको वेवास्ता गरी छनौट भएका सबैलाई नाली सफाई गर्ने, वृक्षारोपण गर्ने तथा ताल सफाई गर्ने कार्यमा लगाईएको छ। व्यक्तिको सीप एकातिर र रोजगार कार्यक्रम मार्फत छुट्टै काम दिएपछि त्यस्ले सीप विकासमा कुनै टेवा पुगाउन नसक्ने तर्क धेरेको छ। धनगढीका स्थानीय रमेश अवस्थीले व्यक्तिको दक्षताको वेवास्ता गर्दै कार्यन्वयन भएको रोजगार कार्यक्रमले परिणाम दिन नसक्ने बताए। 
‘अर्को तर्फ सुदूरपश्चिम प्रदेशमा आएको ३७ करोड बढि बजेट झार सफाईमा खर्च हुने देखिएपछि त्यस्को उपलव्धी के हुने प्रश्न पनि खडा भएको छ।’ उनले भने, ‘घर अगाडीको नालीमा झारपात सफाई घरधनीले गर्दै आएका थिए, त्यस्का लागि रोजगार कार्यक्रम किन चाहियो।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस