कैलालीमा जुवाखालबाट पक्राउ परेका १५२ जुवाडे विरुद्ध मुद्दा दायर
धनगढीः कात्तिक ४ गते राति कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीले धनगढी–५ हसनपुरको एक जुवा घरमा छापा हान्यो।
सिडियो नेतृत्वको टोलीले जुवा घरबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ नै गरियो। सुरक्षा टोलीले जुवाखालबाट १० गड्डी तास र एक लाख ५३ हजार ३५० नगद बरामद गरेको थियो। जुवातास खेलको कसुरमा पक्राउ परेका ११ जनालाई भने प्रहरीले दोस्रो दिन रिहा गरेको छ। केही दिन हिरासतमा राखेर अनुसन्धान सकेर मुद्दा चलाउनुपर्नेमा प्रहरीले जरिबाना तिराएर सबैलाई छोडेको हो। यो एक प्रतिनिधि घटना मात्रै हो।
कैलाली प्रहरीले जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ गर्ने र दोस्रो दिन नै छोड्ने गरेको पाइएको छ। तर प्रहरीले भने अदालत तथा जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेर मात्रै पक्राउ परेकाहरूलाई छोड्ने गरेको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता दर्शन खड्काले पक्राउ परेकाहरूलाई मुद्दा दर्ता गरेर धरौटीमा छोड्ने गरेको बताए। उनले अदालत या जिल्ला प्रशासनको आदेशमा प्रहरीले जुवाडेहरूलाई छोड्ने गरेको बताए।
जुवातास खेल्ने र खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनुअघि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ।
कैलाली जिल्लामा प्रहरीले जुवातास खेल्ने र खेलाउने १५२ जना विरुद्ध नै मुद्दा दायर गरेको दाबी गरेको छ। तर समूहमा जुवाडे पक्राउ पर्ने भएकाले मुद्दा दर्ता संख्या कम देखिए पनि सबै उपरमुद्दा दर्ता भएपछि मात्रै अदालत या जिल्ला प्रशासन कार्यालयको आदेशमा व्यक्तिहरूलाई धरौटीमा छोड्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता खड्काको दाबी छ।
‘प्रहरीले पक्राउ परेका व्यक्तिलाई उत्तिकै छोड्न मिल्दैन। उहाँहरूलाई अदालत या जिल्ला प्रशासन कार्यालयको आदेशमा मात्रै छोड्न मिल्छ’, उनले भने, ‘समूहमा व्यक्तिहरू पक्राउ पर्ने भएकाले मुद्दा दर्ता संख्या कम देखिएको हो। पक्राउ परेका सबैलाई मुद्दा दर्तापछि छोडिएको हो।’ कैलाली प्रहरीले चालु आर्थिक वर्षको तीन महिनामा जुवा खालबाट ८ लाख १९ हजार १८७ रुपैयाँ बरामद गरेको छ।
जिल्लामा जुवातास नियन्त्रण गर्न जिल्लाका सबै प्रहरी युनिट परिचालन गरिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए। उनले जुवातास नियन्त्रण गर्न जिल्लाभर सादा पोसाकको प्रहरी टोलीसमेत परिचालन गरिएको बताए। उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १५२ जना जुवाडे पक्राउ परेको बताए। ती सबै विरुद्ध प्रहरीले मुद्दा चलाएको प्रहरी उपरीक्षक बिष्टले बताए। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।