धनगढीमा सेती अस्पतालको भवन रविना–थेगिमले पार्यो ७ वर्षदेखि अलपत्र
धनगढीः सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढी र रविना/थेगिम जेभीको बिचमा २०७४ कार्तिकमा सेती अस्पतालमा नयाँ भवन निर्माण गर्न सम्झौता भयो।
निर्माण कम्पनीले ३० महिनाभित्र अस्पताल भवन निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, सम्झौता भएको ७ वर्ष पूरा भइसक्दा पनि भवन निर्माणको काम अझै पुरा भएको छैन्। रविना÷थेगिम जेभीले ३० महिनामा पूरा गर्नुपर्ने अस्पताल भवनको काम ८४ महिनासम्म पनि अधुरै छ।
संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीका सूचना अधिकारी सौरभ कलौनीले अस्पतालमा रङरोगन, टायल तथा विद्युतीकरणको काम अधुरो रहेको बताए। उनले भने, ‘हिजो फोन गरेको थिए। २ जना काम गर्दै थिए। आज एक जना पनि छैनन्। मुख्य काम गरेको छ। विद्युतीकरण र रंगरोगनको काम बाँकी छन्। सामान ल्याएको बताए पनि काम गरेको देखिदैन।’
निर्माण कम्पनीले रङ्गरोगन, मार्वल, विद्युतीकरण लगायतको काम पूरा गरेको छैन। समयमा काम पुरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीसमेत गरिएको छैन। कलौनीले भने, ‘१३ औँ संशोधनको समयमा कारबाहीको प्रक्रिया अगाढी बढाएका थियौ। हर्जनाको प्रक्रियामा गएका थियौ। तर, १३ औँ संशोधनले राहत भयो।’ अस्पताल भवनको भुँई तलामा ओपीडि सेवा सञ्चालन गरिएको छ।
सामाजिक इकाइ, ओपीडी, भिडिओ ए–क्सरे लगायतका सेवा उक्त भवनबाट दिन थालिएको छ। तर, स्थान अभावका कारण सेवा विस्तार र ओपिडी सेवा दिन समस्या हुने गरेको छ। ओपीडि सेवाका लागि अस्पताल आउने बिरामीका लागि उक्त क्षेत्रमा स्थान अभाव देखिएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले ओपिडी सेवा सञ्चालनमा समस्या रहेको बताए। उनले भने, ‘सेती अस्पतालमा भवन निर्माणको चरणमा छ।
सात वर्षदेखि भवनको काम पूरा भएको छैन। अस्पतालमा बिरामीको चाँप बढेको छ। सेवा थप गर्दै लगेका छौ। तर, भवन नभएकाले सेवा विस्तार र सञ्चालनमा समस्या हुने गरेको छ। विशेष गरेर ओपिडी, भिडिओ एक्सरे, सिटीस्क्यान, एमआरआइ सेवामा समस्या हुने गरेको छ।’ निर्माण कम्पनीले अस्पताल भवन निर्माण गर्न १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरेको थियो। २०७७ वैशाखदेखि पटक–पटक म्याद थप्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन। तोकिएको समयभन्दा तेब्बर समय भइसक्दा पनि भवन निर्माणको काम अलपत्र छ। ‘एक तला मात्र भएको छ। दोस्रो तलाको काम बाँकी नै छ,’ श्रेष्ठले भने।