सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिनका टहराबाट मुक्तभए आशापुरका पौरखी मुक्तकमैया

२०८१ कार्तिक ६, ०२:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ।

त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो। नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो। होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो। आशापुरमा मुक्तकमैया बस्ती हो। २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो।

हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ। हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन्। मुक्तकमैयाको परिवार पनि बढेर २२ पुगेको छ। आशापुरको मुहार मात्रै नभएर मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ। अधिकांश स्थानीय डकर्मी छन्। कोही वैदेशिक रोजगारीमा छन भने केही सागसब्जी फलाएर आयआर्जन गर्न सफल भएका छन्।

स्थानीय जानकी चौधरीले कमैया मुक्त भएपछि सुरुमा केहीवर्ष अफ्ट्यारो भए पनि हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेको बताइन्। कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो। जानकीले आधा बिगाह जमिन अधियाँमा लिएर धान,गहुँ खेती गर्दै आएकी छन्। आफ्नै ९ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत सागसब्जी खेती गरेकी छन्।

च्याउखेती पनि गर्ने गरेको उनको भनाइ छ। मानबहादुर डगौराले पनि १० कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुरले पक्की घर निर्माण गरेका छन्। आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि गएका छन्।

श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम हाल गाउँमै सागसब्जी खेती गर्दै आएका छन्। उनले ९ वर्ष विदेशमा मजदुरी काम गरेका थिए। त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरेका छन्। स्थानीय बलबहादुर डगौराले मिस्त्री काम गर्दै आएका छन्। अब्बल मिस्त्री गनिने उनलाई काम गर्न भ्याईनभ्याई छ। कमैया मुक्ति घोषणापछि विभिन्न संघसंस्थाले सीपमूलक तालिम दिएका थिए। त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुरले बताए।

कमेन्ट लोड गर्नुस