सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक 'क्लिन स्विप'

२०८१ कार्तिक ५, ०९:३७ खबर संवाददाता

काठमाडौँ: नेपालले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार अमेरिकामाथि ऐतिहासिक ’क्लिन स्विप’ गरेको छ। नेपाल सिरिजका तीनै खेलमा विजयी रह्यो। डलासमा भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो। सुरुवाती दुई खेल जितेर नेपालले यसअघि नै सिरिजमाथि कब्जा गरिसकेको थियो।

अमेरिकाले नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो र त्यसलाई नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले ४० र कुशल मल्लले ४४ रन बनाए। उनीहरूले तेस्रो विकेटका लागि ७४ रनको निर्णायक र नटआउट साझेदारी गरे।

नेपालले पहिलो विकेटका लागि ३३ रन जोडेको थियो र अनिल साहले ११ बलमा १३ रन बनाए। उनी जसदीप सिंहको बलमा एलबीडब्लू धरासमा परे। त्यसपछि अर्का ओपनर आसिफ सेखले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। आसिफ ३९ बलमा ५० रन बनाएर जसदीपकै बलमा आउट भए। उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पाँच विकेट गुमाएर १ सय ५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो। स्कोरबोर्डमा सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने। उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए।

अर्का ओपनर तथा कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए। यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउट भए। लगत्तै एरोन जोन्स १३ रन बनाएर ललित राजवंशीको बलमा पेभिलियन फर्के।

सयन जहाँगीर नौ रन बनाए सोमपालकै शिकार बने। अमेरिकाका लागि अन्त्यतिर मिलिन्द कुमारले उपयोगी ४३ रन बनाए। उनले ३५ बलको मात्र सामना गरेर चार चौका प्रहार गरे। सोमपालको नाममा तीन विकेट रह्यो भने रिजन र ललितले एक/एक विकेट लिए।

कमेन्ट लोड गर्नुस