सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्यारातालमा पूर्वाधार निर्माण गरिँदै

२०८१ कार्तिक २, ०३:५४ रासस

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ताल परिसरमा संरचना निर्माण भइरहेका छन्।

प्यारातालमा पर्यटकको आकर्षणका लागि स्थानीयले प्याराताल परिसर श्रङ्गार गर्ने काम गर्दै आएका छन्। नागरिकहरुले स्वतःस्फूर्त रुपमा ताल परिसरमा विभिन्न प्रकारका कलात्मक आकृति निर्माण गरिरहेको प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए।

नागरिकको स्वतःस्फूर्त सहयोगमा ताल परिसरमा सेल्फी प्वाइन्ट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा राखिएको छ। ताल परिसरमा प्रतिमा लगायतका संरचना निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट १६ लाख सङ्कलन भएको उनले बताए। ताल परिसर सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र आगन्तुकको मनोरञ्जनका लागि झुला निर्माण गरिएको छ।

मनोरञ्जनका लागि प्याराताल उपयुक्त गन्तव्य भए पनि सरसफाइ र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने प्याराताल अवलोकन गर्न पुगेकाहरुले बताएका छन्। प्याराताल अवलोकन गर्न पुगेका टेकबहादुर विश्वकर्माले ताल परिसरमा सरसफाइ, तालको संरक्षण र पूर्वाधार विकासमा लाग्नुपर्ने बताए। ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोजस्थल बनाइएको छ भने पुनर्वास नगरपालिकाको सहयोगमा पर्यटकको मनोरञ्जनका लागि झुला निर्माण गरिएका छन्।

जसका कारण पछिल्लो समय प्यारातालमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। वडासदस्य मणिनाथ बोगटीले तालको संरक्षण लागि पालिकाले काम गरिरहेको बताए। ताल अवलोकन गर्न दैनिक पाँच सयको संख्यामा आन्तरिक पर्यटक प्याराताल पुग्ने गरेको उनको भनाई छ। ५० देखि एक सय मिटरसम्मको चौडाइ भएको ६ किलोमिटर लामो सो ताल जैविक विविधताले भरिएको छ।
 

कमेन्ट लोड गर्नुस