सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

२०८१ कार्तिक २, ०१:१७ खबर संवाददाता

कञ्चनपुरः औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा  अनुसन्धान सुरु गरेको हो। डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हँुदै आएको छ। तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताएका छन्। 

माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे सङ्कलनको कार्य गरिरहेको उनले बताएका हुन्। सङ्कलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण गरिनेछ। एकपटकमा एक सय ५० लामखुट्टेमा अध्ययनको कार्य हुने गरेको छ। अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको त्यस्तै ट्युबमा राखेर अध्ययन गरिने उनको भनाइ छ।

विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे÷नगरेको निक्र्योल गरिने अधिकृत जोशीले बताएका हुन्। पहिलो चरणमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ। एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ। दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ।

भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ। लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन्। आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्म औलोका बिरामीको संख्या सुदूरपश्चिममा दुई सय ४७ रहेकामा आयातित बिरामीको संख्या दुई सय २९ रहेको थियो।

कमेन्ट लोड गर्नुस