सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकी नाका भएर १३८ विदेशी पर्यटक कञ्चनपुर भित्रिए

२०८१ असोज २७, ०९:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटेका छन्।

पूर्वाधार विकास र प्रचारप्रसारको कमीले शुक्लाफाँटा आउने पर्यटक घटेका हुन्। गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुककाबाट आउने पर्यटकहरु समेत पर्यटकीय स्थलहरुको भ्रमण नगरी काठमाडौं र पोखरातर्फ लाग्ने गरेका छन्। कोरोना संक्रमण सुरु भएपछि विदेशी नागरिकलाई बन्द गरिएको गड्डाचौकी नाका संक्रमण कम भएसँगै नेपाल प्रवेश खुला भयो। तर भारतले तेस्रो मुलुकका नागरिकलाई प्रवेश खुला गरेन।

दुई महिनाअघि मात्रै विदेशी नागरिकलाई पनि प्रवेश खुला गरिएको हो। त्यसपछि भारतमा घुम्न आएका पर्यटकहरु पनि नेपाल भित्रिन थालेका हुन्। गड्डाचौकी स्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो २ महिनाको अवधीमा १ सय ३८ पर्यटक भित्रिएका छन् भने ५० पर्यटक सो नाकाबाट बाहिरिएका छन्। जनवरीदेखि हालसम्म सो नाकाबाट ६ सय ३७ जना भित्रिएका छन्।

गत वर्ष ९ सय ८३ जना भित्रिएका थिए। त्यसभन्दा अघिल्लो वर्ष ५ सय ४२ जना भित्रिएका थिए। ३०५ वर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणबाट सम्भावनायुक्त भए पनि पर्यटकहरु शुक्लाफाँटा पुग्न सकिरहेका छैनन्। अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरु आए पनि सिधैं काठमाडौं पोखरालगायतका शहर घुम्न जाने गरेको बताए।

सो क्षेत्र २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको थियो। संरक्षणको क्रममा २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको रूपमा स्थापना भएपछि २०७३ फागुन ९ गते वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिवर्तन गरिएको थियो। शुक्लाफाँटामा तराईको संरक्षित घाँसे मैदानमध्ये सबैभन्दा ठूलो घाँसे मैदान रहेको छ।

६६५ प्रजातिका वनस्पति, ५३ भन्दा बढी प्रजातिका वन्यजन्तु, ताल तलैया, ३५ प्रजातिका पुतली, करिब ४२४ प्रजातिका चराहरु जसमा विश्वमै दुर्लभ मानिने लेसर भुडिफोर जातको चरा पाइन्छ। पश्चिमी नाका भएर आउने कुल पर्यटकमध्ये करिब १० प्रतिशत मात्र निकुञ्ज भ्रमणका लागि आउँने गरेका छन्। शुक्लाफाँटा मात्र नभई महाकाली पारिका दोधारा–चाँदनीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगे पुल तथा बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा उक्त क्षेत्र समेत ओझेलमा परेका छन्। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्य स्तरबाट लगानी हुन नसकेको बताए।
 

कमेन्ट लोड गर्नुस